कर्णाली प्रदेश

दुर्गम गाउँपालिकाको वडा कार्यालय निर्माण

हुम्ला । जिल्लाभरिका गाउँपालिका भाडाको भवनमा सञ्चालन भइरहेको भए पनि नाम्खा गाउँपालिकाको वडा नम्बर ६ हिमालपारिको गाउँ लिमीको वडा कार्यालय आफ्नै नयाँ भवनमा सञ्चालन भएको छ । आर्थिक वर्ष ०७४/०७५ को बजेटबाट गाउँपालिकाले वडा कार्यालयको भवन निर्माण सम्पन्न गरेपछि वडा आफ्नै भवनमा सरेको हो । नवनिर्मित भवनमा वडा कार्यालय सरेको बताउँदै नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले तीन महीनामा भवनको निर्माण कार्य सम्पन्न गरिएको बताए।

स्थानीयवासीको उपभोक्ता समितिबाट भवन निर्माण गरिएको हो । अध्यक्षको कोठा, बैठक कक्ष, कर्मचारी कक्ष र स्टोर कोठा गरेर चार वटा कोठा निर्माण भई सञ्चालनमा आउँदा सेवाग्राहीलाई पनि सेवा दिन सहज भएको अध्यक्ष तामाङले बताए । दुर्गम गाउँको वडा कार्यालयमा कम्प्युटरसमेत जडान गरिएकोले काम छिटो र छरितो रुपमा सम्पादन हुने गरेको स्थानीयवासी पेम्बा तामाङले बताए । स्थानीयवासीले छोटो समयमा थोरै बजेटमा स्तरीय भवन निर्माण गरेर पूरा गरेका छन् ।

गाउँपालिकाका सबै वडालाई आफ्नै भवन बनाउने गाउँपालिकाको नीतिअनुसार नाम्खा–६ बाट त्यसको शुरुवात गरिएको गाँउपालिका अध्यक्ष विष्णु लामाले बताए । रु १९ लाख ७५ हजार ३८६ कूल लागतमा चार कोठे स्तरीय भवन गाउँलेले बनाएका हुन् । जसमा पालिकाको रु १६ लाख ८४ हजार १०६ खर्च भएको छ भने रु दुई लाख ९१ हजार १७६ जनश्रमदान गरिएको छ । योसँगै अब गाउँपालिकाका सबै वडालाई भवन निर्माण गर्ने योजना रहेको अध्यक्ष लामाले बताए ।