कृषि

कृषि र पशु सेवा केन्द्र बन्द हुँदा कृषक मर्कामा

म्याग्दी । कर्मचारी अभावका कारण म्याग्दीका पाँच वटा कृषि र पशु सेवा केन्द्र बन्द भएका छन् । कार्यरत कर्मचारी घरपायक सेवा केन्द्रमा सरुवा भएर गएपछि दुई वटा पशु सेवा र तीन वटा कृषि सेवा केन्द्र बन्द भएका हुन् । सरुवा गरिएका प्राविधिक कर्मचारीको पदपूर्ति नहुँदा तीन वटा कृषि र चार वटा पशु सेवा केन्द्र कार्यालय सहयोगीले धानेका छन् ।

रघुगङ्गा गाउँपालिका–६ पाखापानीका दुतबहादुर पाइजाले कर्मचारी अभावमा पशु र कृषि सेवा केन्द्र बन्द भएपछि पशुपक्षीको उपचार, औषधि, बीउबिजन, रोग किराको नियन्त्रण र परामर्श सेवाबाट वञ्चित भएको गुनासो गरे ।

धौलागिरि गाउँपालिका–२ लुलाङ र अन्नपूर्ण–६ घारस्थित पशु सेवाको सेवा केन्द्र कर्मचारी अभावमा बन्द भएको छ । यस्तै अन्नपूर्ण गाउँपालिका–६ घार, रघुगङ्गा–६ पाखापानी र बेनपा–९ घतानको कृषि सेवा केन्द्र पनि बन्द भएको छ ।

स्थानीय तहमा हस्तान्तरण भए पनि जनप्रतिनिधिको बेवास्ताका कारण पशु र कृषि क्षेत्रका कार्यक्रम, योजना तथा बजेट नहुँदा कर्मचारी निराश बनेर धमाधम सरुवा हुने क्रम बढेको बताइएको छ ।

निजामती र प्राविधिक सेवामा म्याग्दीका जनशक्ति कम हुनु पनि एउटा कारण भएको निजामती कर्मचारीको आधिकारिक टे«ड युनियन म्याग्दीका उपाध्यक्ष डिल्लीराम रेग्मीले बताए ।

सेवा केन्द्र बन्द हुँदा कृषि क्षेत्रमा दीर्घकालीन असर पर्ने कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत भोजबहादुर थापाले बताए । बीज वृद्धि कार्यक्रमले गत वर्ष निरन्तरता नपाउँदा म्याग्दीमा यसपालि आलु, गहुँ, धान, मकै, तोरीको बीउ अभाव भएको छ ।