पु.समाचार

दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुग्यो (नामसहित)

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ अरुणखोलामा आइतबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका सोलुखुम्बुका ३० वर्षीय गणेश बस्नेतको उपचारको क्रममा मृत्यु भएपछि हालसम्म दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको प्रहरीले जनाएको छ ।

यसअगावै मृत्यु हुनेमा नेपाली सेनामा कार्यरत गुल्मी हस्तचौर गाउँपालिका–२ बस्ने ३५ वर्षीय तिलक विष्ट, जिल्ला मोरङ सुन्दरहरैचा–१२ बस्ने ११ वर्षीय सुहन कार्की, भोजपुर हतुवागढी–६ बस्ने २७ वर्षीय रामजीत राई, सुनसरी घर भई जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीमा कार्यरत ३२ वर्षीय अब्दुल अन्सारी र भारत विहार बस्ने विद्यानन्द यादव रहेका थिए ।

दुर्घटनामा घाइते भएका बाँकी ३५ मध्ये १५ जनालाई उपचारपश्चात् घर फर्काइएको र बाँकी २० को भरतपुरमा थप उपचार जारी रहेकोे प्रहरीको भनाइ छ । इटहरीबाट भैरहवाका लागि छुटेको लु१ख ८४५४ नंको बस आइतबार बिहान करीब ५ बजेको समयमा दुर्घटनामा परेको थियो । बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ ।

पन्ध्र जुवाडेलाई जुवा ऐनअनुसार कारवाही

पूर्वी नवलपरासीबाट जुवा खेल्दाखेल्दै रङ्गेहात पक्राउ परेका १५ जनालाई प्रहरीले जुवा ऐनअनुसार कारवाही प्रक्रिया अघि बढाएको छ ।

आइतबार बिहान नगद रु चार लाखसहित गैँडाकोट नगरपालिका–१ ब्रिटिस क्याम्प नजिकै रहेको खरको टहराभित्र लुकेर कौडा खेलिरहेको अवस्थामा पक्राउ परेका उनीहरुलाई प्रहरीले जुवा ऐनअनुसार कारवाही प्रक्रिया अघि बढाएको जनाएको हो ।

पक्राउ परेकालाई जुवा ऐनअनुसार कारवाही प्रक्रिया अघि बढाइएको र सोहीअनुसार कारवाही हुने प्रहरी निरीक्षक लोकबहादुर जिसीले जानकारी दिए ।
पक्राउ पर्नेमा पूर्वी नवलपरासी गैँडाकोट–१ का रमेश श्रेष्ठ, चितवनको भरतपुर महानगरपालिका–५ का विमल श्रेष्ठ, भरतपुर–२ का खुमप्रसाद श्रेष्ठ, भरतपुर–३ का अनिल शाह, भरतपुर–४ का श्याम लामा, भरतपुर–२ का प्रदीप लामा, भरतपुर–११ का निर्मल श्रेष्ठ, भरतपुर–१९ का कृष्णहरि शर्मा, चितवनको रत्ननगर नगरपालिका–१४ का विशाल बस्नेत, सोही ठाउँका कुमार गुरुङ, बाबुराम अर्याल र लमजुङ जिल्लाका बेँसीशहर–२ का विपीन गुरुङ रहेका छन् ।