विचित्र संसार

अब रोबोटले नै गर्नेछ अन्तिम संस्कारको कर्मकाण्ड

काठमाडौँ । मान्छेको मृत्युपछि रीतिथिति तथा धर्म परम्परा अनुसार अन्तिम संस्कार गरिन्छ । यसका लागि मानिसहरुले आ–आफ्नो संस्कार अनुसारको पुरोहितको साहरा लिन्छन् र कर्मकाण्ड गराउँछन् । तर अब चाहिँ मृत्युपछि अन्तिम संस्कारको कर्मकाण्ड गर्न पुरोहित खोज्नुपर्ने छैन । अब रोबोटले नै अन्तिम संस्कारको कर्मकाण्ड गर्नेछ ।

जापानमा वैज्ञानिकहरुले एउटा यस्तो पण्डित रोबोटको आविष्कार गरेका छन् जसले बौद्ध धर्माबलम्बी मानिसहरुको मृत्युपश्चात् अन्तिम संस्कारको कर्मकाण्ड गर्नेछ ।

जापानीहरु नयाँ कुरा आविष्कार गर्ने मामिलामा दुनियामै नम्बर वान छन् । उनीहरुले नगर्ने काम सायदै होलान् । हालै जापानको एक रोबोट कम्पनीले पेप्पर नामक यस्तो रोबोट बनाएको छ जसले अन्तिम संस्कारको कर्मकाण्ड गर्नेछ । यसले पण्डितले जस्तै श्लोक बाचन गरेर धार्मिक कर्मकाण्ड सम्पन्न गर्नेछ ।

जापानको राजधानी टोक्योमा चलिरहेको विज्ञान प्रदर्शनीमा सफ्टबैंक नामक रोबोटिक्स कम्पनीले पेप्पर नामक रोबोट लञ्च गरेको हो । यो रोबोटले बुद्ध धर्मका पण्डितको जस्तै पहिरन लगाउँदछ । साथै त्यसले सानो ड्रम बजाउँदै मन्त्र तथा श्लोक पढ्दछ । यो रोबोटले पाको पण्डितले जस्तै विधिपूर्वक अन्तिम संस्कारको कर्मकाण्ड पूरा गर्नेछ ।

जापानमा घटिरहेको जनसंख्यासँगै बौद्ध धर्मका गुरुहरुको कमी भएसँगै मानिसहरुलाई मृत्यु संस्कार सम्पन्न गर्ने धार्मिक गुरुहरु पाउन गाह्रो हुन थालेको छ । सोही आवश्यकतालाई मध्यनजर गर्दै पण्डित रोबोटको निर्माण गरिएको हो । जापानमा कुनै बौद्ध धर्मका धार्मिक पण्डितबाट अन्तिम संस्कारको कर्मकाण्ड गराउनका लागि झण्डै २२ हजार अमेरिकी डलर खर्च लाग्दछ । तर यो पण्डित रोबोटबाट उस्तै विधिपूर्वक कर्मकाण्ड गर्दा जम्मा साढे ४ सय डलर मात्र खर्च हुन्छ ।  –एजेन्सी