मनोरञ्जन

चिनियाँ जनजीवन झल्कने चित्रकला प्रदर्शनी काठमाडौँमा सुरु

काठमाडौँ । चाइना नेशनल एकेडेमी अफ पेन्टिङ र नेपालस्थित चिनियाँ साँस्कृतिक केन्द्रद्वारा आयोजित चिनियाँ शैली शीर्षकको दुईदिने चित्रकला प्रदर्शनी आज नेपाल कला परिषद् बबरमहलमा शुरु भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले यस्ता प्रदर्शनीबाट एक अर्काबाट सिक्ने अवसर मिल्ने उल्लेख गरे । बुद्घका उपदेशले पनि दुवै देशका सामाजिक जीवनमा समान रुपमा प्रभाव पारेको उनले बताए ।

चिनियाँ साँस्कृतिक केन्द्रका निर्देशक यीन खुनसोङले दुई देशवीचको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले यस्तो कला प्रदर्शनीको आयोजना गरिएको जानकारी दिए

नेपाल भ्रमणमा रहेका चिनियाँ कलाकारको एघार सदस्यीय टोलीका नेता तथा कलाकार चाङले दुईदेशबीच कलाकारको आदानप्रदानले सम्बन्धलाई जनस्तरमा पु¥याउने बताए । प्रदर्शनीमा राखिएका चित्रले चीनको पुरानो तथा नयाँ जनजीवनवारे बुझ्न मद्दत गर्ने उनले बताए ।

चिनियाँ दूतावासका संस्कृति विभाग प्रमुख सी पाईले एकार्का देशका कला र संस्कृति बुझ्न भाषाको आवश्यकता नपर्ने र ती कलाले नै आपसका संस्कृति स्पष्ट बुझ्न सकिने बताए ।

कार्यक्रममा चिनियाँ कलाकारबाट नेपाली तथा चिनियाँ जनताबीच आत्मीयता बढाउने गरी चिनियाँ गीतसङ्गीत पनि प्रस्तुत गरिएको थियो । प्रदर्शनीमा चिनियाँ कलाकारका चिनियाँ जनजीवन, प्रकृति र वातावरण झल्काउने पानी रङबाट बनाइएका करीब चार दर्जन चित्र समाविष्ट छन् ।