समाचार

पूर्वपश्चिम राजमार्गमा बस दुर्घटना हुँदा दुईजनाको ज्यान गयो, सातजना गम्भीर

सप्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीमा आज भएको यात्रुवाहक बस दुर्घटनामा सहचालकको मृत्यु भएको छ भने सात यात्री घाइते भएका छन् ।

शम्भुनाथ नगरपालिका–७ देवधारस्थित पूर्वपश्चिम राजमार्गमा सडकभन्दा पाँच छ मिटर तल खसेर पल्टिएको बा४ख ४४७० नंको बसका सहचालक काभ्रेपलाञ्चोक निवासी ४५ वर्षीय दीपक राईको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

सुनसरीको चतराबाट काठमाडौँ हिँडेको बस दुर्घटना हुँदा अन्य सात यात्री घाइते भएकामा स्थानीय अस्पताल, कल्याणपुरको खरचुइयास्थित क्लिनिक तथा सिरहाको लहानमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो । घाइते यात्रीका अनुसार बस तीव्र गतिमा गुडिरहेको थियो । बसमा ३५ यात्रु सवार थिए ।

राजविराज – पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्नि साइकृष्ण सवरण गाउँपालिका– १ जण्डोलमा माइक्रोबसको ठक्करबाट पैदलयात्री स्थानीयवासी ६५ वर्षीय अन्दुलाल चौधरीको मृत्यु भएको छ ।

विराटनगरबाट काठमाडौंँतर्फ जाँदै गरेको बा ५ ख १४५१ नं को माइक्रोबसले अर्को सवारी साधनलाई उछिन्ने क्रममा सडक किनारमा हिँडिरहेका चौधरीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।

घटनापछि स्थानीयवासी र पीडितले पूर्वपश्चिमराजमार्गमा केही घण्टा चक्का जाम गरेका थिए । माइक्रोबस र चालकलाई नियन्त्रणमा लिने शर्तमा यातायात पुनःसञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।