प्रदेश 2

दशैं मनाउन मामाघर आएका बालकको डुबेर मृत्यु

सप्तरी । दशैं मनाउन मामाघर आएका एक बालकको कोशी नदीमा डुबेर मृत्यु भएको छ ।

तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित कोशी नदीमा नुहाउने क्रममा सुनसरी भोक्राहा–३ का जयानन्द यादवका छोरा १५ वर्षीय अविनाश यादवको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका–१४ डलवास्थित मामाघर आएका उनी आधा घण्टाको दुरीमा रहेको स्थानमा नुहाउन गएका थिए । बालकसँग नुहाउन गएका मामाका छोरा र सानीआमाका छोराले बचाउने प्रयास गरेपनि कोशी नदीको भङ्गालोमा फसेकाले बचाउन नसकेको परिवारका सदस्यले बताएका छन् ।

बालकको मृत्युले माइज्यु पिंकी यादव, मामाघरकी हजुरआमा धनेश्वरीदेवी र उनकी देवरानी हरीहरदेवी बेहोस भएका छन् । अचेत अवस्थमा उनिहरुको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच सप्तरीको सप्तकोशी नदीमा करिब ६५ वर्षीया एक वृद्धाको शव फेला परेको छ ।

कोशी ब्यारेजको ढोका नम्बर ५२ र ५३ को मध्यभागमा अडकिएको अवस्थामा वृद्धाको शव निकालिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जानकारी दिएको छ ।

शवको परीक्षण राजविराजस्थित अञ्चल अस्पतालमा गरिएको छ । अहिलेसम्म शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।