पर्यटन/संस्कृति

ऐतिहाशिक तलेजु मन्दिरमा पुजा गर्न सर्बसाधारणको भीड

काठमाडौँ । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर बिहीबार सर्वसाधारणका लागि खुला गरिएको छ ।

तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । तलेजु मन्दिरमा अरु ३६४ दिनमा दैनिक नित्य पूजा हुन्छ र एक दिन सर्वसाधारणको पूजाका लागि खोलिन्छ ।

हनुमनढोका हेरचाह अड्डाका अनुसार नित्य पूजाका लागि भक्तपुर र ललितपुरमा कर्माचार्य, जोशी तथा राजोपाध्याय पुजारी रहेका छन् । काठमाडौँमा भने कर्माचार्य र जोशी मात्र पुजारी रहेको काठमाडौँ तलेजु भवानीका मूल नाइके शशीविक्रमध्वज जोशीले जानकारी दिए ।

प्यागोडा शैलीको प्राचीन मन्दिर वर्षमा एक पटक मात्र खुल्ने हुँदा विशेष महत्वका साथ भक्तजनले दर्शन गर्ने गर्छन् । मन्दिरमा लिपपोत तथा सरसफाइ सम्पन्न भएको छ भने सुरक्षाको व्यवस्था चुस्त बनाइएको अड्डाले जनाएको छ । अड्डाका अनुसार नेपाली सेना, नेपाल प्रहरी, स्थानीय क्लब, रेडक्रस, स्काउट आदिले भक्तजनको लाइनदेखि अन्य व्यवस्थापन गरिरहेका छन् ।

नेवार समुदायको इष्टदेवीका रुपमा लिइने तलेजु भवानीको दर्शनका लागि उपत्यका वरपरबाट थुप्रै दर्शनार्थी आउने गर्छन् ।
मल्ल राजाहरूको इष्टदेवीका रुपमा रहेको तलेजु भवानीलाई कर्नाटवंशी राजा हरिहरसिंह देवले उपत्यकामा ल्याएको इतिहासमा उल्लेख छ । सन् १३२५ मा भारतीय मुसलमान शासकले हरिहरसिंहको राज्य सिम्रौनगढमा आक्रमण गरेपछि आक्रमणबाट बच्न उनी देवीसहित भक्तपुर आएको इतिहासमा उल्लेख छ ।

सत्रौँ शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने क्रममा कुदृष्टिले हेरेपछि तलेजु भवानी मन्दिरबाट हराएकी थिइन् । राजाले क्षमा माग्दै धेरै रोइकराइ गरेपछि तलेजुले वर्षको एक पटक महानवमीको दिन मात्र आउँछु भन्ने वचन दिएको किम्वदन्ती रहेको छ ।

वसन्तपुरका साथै कीर्तिपुर, फर्पिङ, साँखु, ठिमी, चापागाउँ, नुवाकोट, दोलखा, बनेपा, पनौतीलगायत ठाउँमा पनि तलेजु भवानीको पूजा आराधना गरिन्छ । राजा रत्न मल्लले सबैभन्दा पहिले भवानीको मन्दिर बनाएको भए पनि पछि विसं १६२० मा महिन्द्र मल्लले अहिलेको यो मन्दिर बनाएका हुन् ।

यही मन्दिरको माथिल्लो तलाबाट राजा महिन्द्र मल्लले जनताको घरमा धुरीबाट धुवाँ निस्किएको हेरेपछि मात्र खाना खाने गरेको किम्वदन्ती छ ।

यो मन्दिरमा दर्शन गरे रोगव्याधिबाट मुक्त भई पारिवारिक सुख–समृद्धि मिल्ने जनविश्वास छ । काठमाडौँ उपत्यकाका तीन शहरबाहेक नुवाकोट, काभ्रे, दोलखा, नालालगायतका स्थानका साथै भारतको हैदरावाद र तिब्बतमा समेत तलेजु भवानीको मन्दिर छ ।

विसं। २०७२ को विनासकारी भूकम्पपछि तलेजु भवानी मन्दिर वरपर क्षति पुगे पनि पुनःनिर्माण भइरहेको छ । भूकम्प गएको वर्षमा पनि मन्दिर दर्शनका लागि सर्वसाधारणलाई रोकिएको थिएन ।