गण्डकी प्रदेश

धार्मिक महोत्सवमा लक्ष्यभन्दा दोब्बर दान अर्थात करिब ६४ लाख उठ्यो

दमौली । मन्दिरको वृहत्तर विकासका लागि रकम सङ्कलन गर्ने उद्धेश्यसहित आयोजना गरिएको धार्मिक महोत्सवमा लक्ष्यभन्दा दोब्बर दान सङ्कलन भएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित तीनखोले देवी मन्दिर परिसरमा असोज २४ गतेदेखि ३० गतेसम्म सञ्चालन भएको श्रीमद्भागवत ज्ञान महायज्ञ एवं धार्मिक महोत्सवमा रु ६४ लाख सङ्कलन भएको हो । धार्मिक महोत्सवमा रु २५ लाख सङ्कलन गर्ने लक्ष्य राखिएको थियो ।

महोत्सव मूल समारोह समितिका संयोजक एवं मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्रीराम अधिकारीले सङ्कलित रकम मन्दिरको विकासमा खर्च गरिने बताए। उनका अनुसार प्रचुर सम्भावना भएर पनि प्रचारप्रसार अभावमा मन्दिर ओझेलमा परेको भन्दै सङ्कलित रकम मन्दिरको प्रचारप्रसारमा लगानी गरिनेछ ।

महोत्सवका अवसरमा सामूहिक कालसर्पयोग शान्ति, चौरासी पूजा, सामूहिक तथा एकल ब्रतवन्ध, ग्रहशान्ति, तुलादान, लाखबत्ती बाल्ने कार्यक्रमसमेत सञ्चालन गरिएको थियो ।

महोत्सवको समापन गर्दै गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले सङ्कलित रकमको सही सदुपयोग हुनुपर्नेमा जोड दिँदै मन्दिरलाई धार्मिक पर्यटन क्षेत्रको रूपमा विकास गर्नुपर्ने बताए ।

शुक्लागण्डकी नगरपालिका–६ का अध्यक्ष कृष्णबहादुर पौडेलले मन्दिरको विकासका लागि नगरपालिकाले समेत योजना बनाएको बताए ।