गण्डकी प्रदेश

सरकारले आवासीय विद्यालय सञ्चालन गर्दै

म्याग्दी । गण्डकी प्रदेश सरकारले आवासीय विद्यालय सञ्चालन गर्ने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले भौगोलिक रुपमा विकट र कम विद्यार्थी भएका सामुदायिक विद्यालयलाई आवासीय बनाउने तयारी गरेको हो ।

बेनीमा सोमबार पत्रकारसँगको भेटघाटमा मन्त्री नरदेवी पुनले आवासीय विद्यालय सञ्चालनका लागि चालू आर्थिक वर्षमा रु दुई करोड बजेट विनियोजन गरिएको जानकारी दिए । आवासीय विद्यालयको मापदण्ड तयार पारेर चालू आर्थिक वर्षमै हिमाली जिल्ला मनाङ र मुस्ताङबाट कार्यक्रम कार्यान्वयन गरिने बताउँदै उनले यसबाट दरबन्दी अनुसारका शिक्षक अभावको समस्या समाधान हुनाकासाथै गुणस्तर सुधारमा पनि सहयोग पुग्छ भने ।

रोजगार र सीपमूलक तालीम, प्रतिष्ठानहरुलाई एकीकृत, प्राविधिक महाविद्यालय सञ्चालनको तयारी गरेको प्रदेश सरकारले भौतिकसँगै मानवीय विकासमा पनि उत्तिकै जोड दिएको मन्त्री पुनले बताए । बेनी–दरवाङ–ढोरपाटन सडकलाई दुई जिल्ला जोड्ने राजमार्ग बनाउन पहल गरिएको र त्रिवेणी–कोरला सडकलाई प्राथमिकतामा राखिएको उहाँले जानकारी दिए ।