सुदूरपश्चिम

कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय

कञ्चनपुर । कञ्चनपुर बेलौरी नगरपालिकास्थित छोटी भन्सार कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ । दुईजना कार्यालय सहयोगीले लामो समयदेखि भन्सार कार्यालयको राजश्व सङ्कलनको कार्य गर्दै आएका छन् । उक्त कार्यालयमा नायब सुब्बाको दरबन्दी रहेको छ ।

सो कार्यालयका नायब सुब्बा कैलाली भन्सार कार्यालयमा कार्यरत छन् । दरबन्दीका कर्मचारी नबस्ने भएपछि न्यून राजश्व सङ्कलन हुने गरेको छ । सो भन्सार कार्यालयको बाटो हुँदै भारतबाट सामान ल्याउनेको लर्को देखिने गरेपनि कर्मचारीको अभावमा थोरैले मात्र राजश्व तिर्ने गरेका छन् ।

घरायसी सामान भन्दै भन्सार कार्यालयमा तैनाथ सशस्त्र प्रहरीले वास्ता गर्दैनन् । भन्सार कार्यालयका कार्यालय सहयोगीले राजश्व तिराए धम्की आउने भएकाले उनीहरुले समेत सामान रोकेर राजश्व तिराउने हिम्मत गर्दैनन् । कार्यालयमा भरपर्दो सुरक्षा व्यवस्था छैन् । कार्यालय सहयोगी बलबहादुर धामीले भने, “अहिले राजश्व काट्छौं, साँझ धम्की आउँछ, त्यसैले सबै समानको राजश्व तिराउने कार्य गर्न गाह्रो छ ।”

भन्सार कार्यालय सुरक्षार्थ सशस्त्र प्रहरी बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मात्रै बस्ने भएकाले अन्य समय शुरक्षा नहुँदा अप्ठेरो रहेको उनले बताए । भन्सार कार्यालय भएर थोरै सामान आउने भए पनि खुला सिमानाका कारण चोर बाटोबाट बढी समान तस्करी हुने गरेको कार्यलय सहयोगीको भनाइ छ । भन्सार कार्यालयमा सुरक्षा बलियो भए राजश्व सङ्कलनमा वृद्धि हुने बताइएको छ ।

कञ्चनपुर भन्सार कार्यालयले हेर्दै आएको छोटी भन्सार कार्यालय गत वैशाखदेखि कैलाली भन्सार कार्यालयले हेर्ने जिम्मा लिएको छ । छोटी भन्सार कार्यलयसँग रहेको चार बिघा सात कट्टा १७ धुर जग्गासमेत अतिक्रमणको चपेटामा परेको छ । हेर्ने जिम्मा लिएको भन्सार कार्यालयले छोटी भन्सार कार्यालयबाट गत वैशाखदेखि भदौ महिनासम्म रु एक लाख ९० हजार सात सय २७ राजश्व मात्रै सङ्कलन गरेको छ ।

बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले वर्षमा यस क्षेत्र बाट मात्रै रु ९० करोड बढी राजश्व सङ्कलन हुने देखिए पनि भन्सार छलेर सामान भित्र्याउने भएकाले राज्यलाई निकै घाटा भएको बताए । करोडौंको राजश्व छलिभइरहेकाले भन्सार नाकाको स्तरवृद्धि र भरपर्दो सुरक्षाका लागि पहल भइरहेको बताए । छोटी भन्सार कार्यालय विसं २०२० मा स्थापना भएको हो ।

मदिरा बेचबिखन र सेवनमा निषेध

जिल्ला प्रशासन कार्यालयले दशैंँ अवधिभर मदिराको उत्पादन, ओसारपसार, बिक्रीवितरण सेवनमा पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको छ । आज प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीको संयोजकत्वमा बसेको बैठकले मदिरा उत्पादनदेखि सेवन सम्मको कार्य निषेध गर्ने निर्णय गरेको हो । शान्ति सुरक्षालगायत जिल्लाको समग्र परिस्थितिलाई मध्यनजर गर्दै दशैँको टीकाको दिनसम्म मदिराजन्य पदार्थको खरीद बिक्री र सेवनमा रोक लगाइने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारीले बताए ।

“शान्ति सुव्यवस्था कायम राख्नका लागि यो निर्णय गरेका छौं” उनले भने, “ तिहारको लक्ष्मी पूजा, गोवद्र्धन पूजा र भाइ टिकाको दिनसमेत मदिराको उत्पादन, ओसारपसार, बिक्रीवितरण सेवनमा पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको छ ।” बैठकमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, नागरिक समाज, होटल व्यवसायी, जनप्रतिनिधि र नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष लगायत सहभागिता थियो ।