बाग्मती

चितुवाको छालासहित तीन पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले चितुवाको छालासहित आज तीन जनालाई कोटेश्वरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका–२ का मोहनसिंह रोकाया, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–४ का अनमोल तामाङ र काठमाडौँका एकजना रहेको ब्यूरोका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । एकजनाको नाम भने विशेष कारणले सार्वजनिक नगरिएको उनले बताए ।

उनीहरुबाट चितुवाको आखेटोपहारसहित एक थान छाला बरामद गरिएको ब्यूरोले जनाएको छ । पक्राउ परेका तीनैजनालाई आजै कारवाहीका लागि डिभिजन वन कार्यालय काठमाडौँमा बुझाइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ तथा साइटिस महासन्धी–१९७५ अनुसार उनीहरुलाई कारवाही गरिने ब्यूरोले जनाएको छ ।