बाग्मती

महानगरका मेयर शाक्य भन्छन्, ‘पैदलयात्रुका कारण काठमाडौँको जाम हटाउन सकिन’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दशैँलगत्तै भित्री शहरको पुनःनिर्माण र धुलो न्यूनीकरण गर्न प्राथमिकताको साथ लाग्ने भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले रासससँगको कुराकानीमा निर्वाचनको समयमा जनतासामु गरिएको प्रतिबद्धता धेरै कुरा पूरा गर्ने क्रममा रहेको र केही दशैँलगत्तै शुरु गर्ने बताए ।

‘क्लिन द सिटी’ अभियान, आठ मिटरभन्दा कम चौडाइका सडक मर्मत र वडालाई सशक्तीकरण गरी नागरिकलाई सेवा प्रदान, ज्येष्ठ नागरिकलाई घरघरमा भत्ता र स्वास्थ्य उपचार सेवा, भूकम्पका कारण भत्किएका सम्पदाको पुनःनिर्माण र अनलाइनमार्फत नक्सा पासजस्ता कार्य कामपामा भइरहेको छ ।

लामो समयपछि स्थानीय तहमा जनप्रतिनिधि आएका छन्, काम विस्तारै हुन्छ १५ वर्षसम्म हुन नसकेको काम एक वर्षमा नै पूरा गर्नु असम्भव हुन्छ त्यसैले काम गर्न समय लागेको हो ।

काठमाडौँलाई सफा बनाउनका लागि दुई वटा बु्रमर चीन सरकारले दिइसकेको र रु १२ करोडको लागतमा पाँच वटा ल्याउने अन्तिम तयारी रहेकाले सडक सफा राख्न अब कामपालाई कठिन नहुने पनि कुराकानीमा बताइएको छ ।

हरियाली महानगरका लागि यस आर्थिक वर्षभित्रमा नै १० हजार बिरुवा रोप्ने तयारी पनि कामपाको छ । हाल खुलामञ्चमा अव्यवस्थितरुपमा रहेको बसपार्क थप व्यवस्थापनको कामलाई पनि दशैँपछि नै नै शुरु गर्ने कामपाको तयारी रहेको छ ।

शाक्यले भने, “असन, न्यूरोड, सुन्धारालगायत स्थानमा रहेका भित्री सडकको मर्मत कार्य र सडक सफा गरी सुन्दर, नूनदेखि सुनसम्म पाइने मिनी असन निर्माण र हरियाली बनाउने कामका लागि दशैँलगत्तै शुरु गरिनेछ ।”

कामपाले चालू आव २०७५/७६ का लागि रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेको थियो । जसअन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्न चालू आवमा रु चार अर्ब छ करोड बजेट विनियोजन गरिएको छ । सबैभन्दा बढी महानगरभित्रका सडक विस्तार र मर्मतमा खर्च गरिनेछ ।

कामपाभित्र करीब एक हजार ४५० किलोमिटर पक्की सडक छ । कामपाले आठ मिटरभन्दा कम चौडाइका सडक मात्र मर्मतसम्भार गर्छ । कामपाभित्र आठ मिटरभन्दा कम चौडाइका सडक ९५० किलोमिटर छ । कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् ।

यसैगरी कामपाले चालू आवमा पैदल यात्रुको अत्यधिक चाप देखिएका आठ स्थानमा स्थानान्तरण गर्न सकिने नयाँ आकाशे पुल निर्माण गर्ने भएको छ । दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रुको सहजताका लागि ट्राफिक प्रहरी र सडक विभागको सहकार्यमा कामपाले ती स्थानमा नयाँ किसिमका पुल बनाउन लागेको हो ।

कामपाका भौतिक पूर्वाधार महाशाखाका प्रमुख इञ्जीनीयर रामबहादुर थापाले भने, “दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन र पैदल यात्रुको सुरक्षा गर्न पुल बनाइनेछ ।” यस्त पुल निर्माण गर्न पाँच स्थानका लागि स्वरुप पनि तयार भइसकेको छ ।

टेकु भन्सार, त्रिपुरेश्वर, माइतीघर, बबरमहल (काठमाडौँ जिल्ला अदालत), पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर, गौशाला चोकमा पुल बनाइनेछ । सवारी साधनको अत्यधिक चाप हुने सो क्षेत्रमा त्यस्तो पुलको अभावमा पैदल यात्रुलाई बाटो काट्न समस्या पर्र्दै आएको छ ।

पैदलयात्रुले जथाभावी बाटो काट्दा सवारी जामको अवस्था देखिँदै आएको छ । नयाँ ती पुल बनाउन रु १२ करोड बजेट विनियोजन गरिएको प्रमुख थापाले बताए ।

सिसडोल सरकारले निर्माण गर्ने

काठमाडौँको मुख्य समस्याका रुपमा रहेको फोहर व्यवस्थापनको दीर्घकालीनरुपमा स्थान व्यवस्थापनको काम केन्द्र सरकारले नै गरिनुपर्ने पनि कामपाले जनाएको छ । केन्द्र सरकारले स्थानीय तहको समस्या रहेकाले व्यवस्थापन केन्द्र निर्माणको काम स्थानीय तहको नै रहेको हँुदा कामपाका प्रमुख शाक्यले त्यस किसिमको अभिव्यक्ति दिएका हुन् ।

प्रमुख शाक्य भन्छन्, “केन्द्र सरकारले निर्माण गरेको स्थानमा फोहर व्यवस्थापन गर्ने काम मात्र स्थानीय तहको हो, स्थान निर्माणको काम हाम्रो होइन ।” यसरी केन्द्र सरकार र स्थानीय तहबीच विवाद भइरहँदा काठमाडौँ उपत्यकामा फोहरको समस्या दैनिक रुपमा नै बढ्दै गएको छ ।

यसअघि व्यवस्थापन गरिँदै आएको स्थानमा दैनिक एक हजार २०० मेट्रिक टन फोहर २०० गाडीबाट सिसडोल लगिने गरिएको छ । दुई वर्षका लागि भन्दै १३ वर्षअघि सरकारले लिएको नुवाकोट ककनी गाउँपालिकाको सिसडोलमा अहिले फोहर व्यवस्थापन गर्न मिल्ने अवस्था छैन । सम्बन्ध भएको निकायले यस विषयमा ध्यान नदिने हो भने अबको एक महीनामा काठमाडौँ उपत्यकाको फोहर सडकमा नै रहनेछ ।

धादिङ र नुवाकोटको सिमानामा निर्माण गर्न लागिएको स्थायी रुपको फोहर व्यवस्थापन गर्ने स्थान तय गर्नका लागि कम्तीमा तीन वर्षको समय लाग्ने पनि प्रमुख शाक्य बताउछन् ।