समाचार

दिनभरको अनुगमन भ्रमणमा सभामुख महराले के–के गरे ?

घोराही । सभामुख कृष्णबहादुर महराले आज दिनभर लमहीको विकट क्षेत्रको अनुगमन भ्रमण गरेका छन् । यहाँको लमही नगरपालिकाका विकट क्षेत्र मानिने हात्तिखालको वडा नं ९ मा पर्ने गोठुवा, पैते, अमेलियालगायतका स्थानमा उनले आज दिनभर घुमेर स्थानीयसँग भेटघाट गर्दै उनीहरुको गुनासो सुने ।

लमही नगपालिकाका प्रमुख जीतबहादुर केसीका साथमा महरा लमहीको विकट गाउँमा पुगका हुन् । सभामुख महरालाई भेट्नासाथ स्थानीवासीले उनीसँग विकासका योजना मागेका थिए । उनीहरुले आफ्नो क्षेत्रमा विकासको अनुभूति हुने गरी बजेट विनियोजनमा सघाउन सभामुख महरालाई आग्रह गरेका थिए ।

लमही–९ निवासी पहलसिंह ठकुरीले राप्ती नदीमा पक्की पुल, सडक, विद्युत् पानीलगायत आधारभूत सेवा सुविधाबाट आफूहरु बञ्चित भएको भन्दै विकासको अनुभूति हुने गरी गाउँको विकासमा सघाउन आग्रह गरे ।

“नगरपालिका भित्रै छौँ, तर सेवा सुविधा केही छैन”, उनले भने, “गाउँमा विकास हुने केही प्रयास थाल्नुपर्छ ।” सभामुख महरासँग सोही ठाउँकी लक्ष्मी कुमाल र ननि कुँवरले सुकुम्बासीका समस्याको समाधान हुन नसकेको र किसानलाई निःशुल्क मल र बीउ वितरण हुन नसकेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।

पर्यटकीय क्षेत्रको विकासका लागि दशँै शुभकामना तथा खेलकूद प्रतियोगिता कार्यक्रममा सहभागीले सभामुखसँग खुलेरै विकासका पूर्वाधार माग गरेका हुन् । सो अवसरमा सभामुख महराले देउखुरीको हुलाकी सडक कोइलाबास नाकाको विकासअन्तर्गत केन्द्रीय सरकारसँग छलफल चलिरहेको जानकारी दिए ।

देउखुरीको कोइलाबास नाका खोल्ने र दाङको समग्र नाकाको विकासमा केन्द्रीय सरकारको ध्यान गएको आफूले पाएको सभामुख महराले बताए । “यस विषयमा मैले पनि पहल गरेको छु, सरकार पनि गम्भीर भएको पाएको छु”, सभामुख महराले भने, “लमही नगरपालिकाले नगरको विकासका लागि बृहत् गुरुयोजना बनाउन आवश्यक छ, देउखुरीमा टुरिजम क्षेत्र र राप्ती नदीमा ¥याफ्टिङको सम्भावना छ ।”

कार्यक्रममा पूर्वसामान्य प्रशासनमन्त्री रेखा शर्माले लमही नगरपालिका र राजपुर गाउँपालिकाका दुई वटा वडालाई जोड्न राजपुरको भीमबाधमा पक्की पुलको आवश्यक रहेको बताए । लमही नगरपालिका वडा नं ९ भीमबाध र राजपुर गाउँपालिका वडा नं ७ गोठुवा जोड्ने पुल बनेमात्रै समग्र दुई वटा वडाको विकास हुने उनको भनाइ थियो ।