समाचार

जीउँदै गाडिएका शिशु खाल्डोभित्रै रोएपछि…

नयाँ दिल्ली । भारतीय राज्य मध्यप्रदेशमा सात दिनको एक शिशुलाई उनकी आमाले जीउँदै गाडेर छोडे पनि ती शिशु रोएको गाउलेले सुनेपछि जीवितै खाल्डोबाट निकालिएको छ ।

खाल्डोमा पुरेर छोडेको कैयौँ घण्टापछि पनि ती शिशु जीवितै रहेको यस घटनालाई यतिखेर भारतमा आश्चर्यजनक घटनाका रूपमा लिइएको छ । एक १६ वर्षीया युवती बलात्कृत भएर जन्मिएको त्यस शिशुलाई समाजमा लाजको डरले खाल्डोमा पुरेर छोडेकी थिइन् ।

अविवाहित ती युवतीले मध्यप्रदेशको बरवानीपुरस्थित उनको बुबाको घरमा छोरा जन्माएकी थिइन् । जन्मेको एक हप्तापछि घरभन्दा केही परको चौरमा उनलाई गाडेको अवस्थामा गाउलेले भेटेका थिए ।

उनले त्यस शिशुलाई सडक नजिक चौरमा गाडेको र सोही बाटो भएर गाउँका महिला हिँडीरहेको अवस्थामा बच्चा रोएको आवाज सुनेपछि माटो खोस्रेर हेर्दा गाडिएको अवस्थामा बच्चा रोइरहेको पाइएको गाउँले बताउछन् ।

त्यसपछि उक्त शिशुलाई बरवानी जिल्लाको अस्पताल भर्ना गरिएको छ । शिशुको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको अस्पतालले जनाएको छ ।

अस्पतालले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ ‘शरीरभरि लामखुट्टे र किराले टोकेका दाग छन् र माटो उर्छेर शरीर सबै रातो भएको छ, हामीले उपचारमा कुनै कमी गरेका छैनौँ र अहिले शिशुको स्वास्थ्य राम्रो हुँदै गएको छ ।’

गतहप्ता भएको उक्त घटनाको जानकारी प्रहरीले शुक्रबार मात्र दिएको हो । प्रहरीले ती युवतीको नाम भने सार्वजनिक गरेको छैन । ती युवतीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । अनुसन्धानका क्रममा प्रहरीसामु ती युवतीले आफू गाउँकै एक १७ वर्षको युवकबाट बलात्कृत भएर सो बच्चा जन्मिएको बताएकी छिन् ।

प्रहरीले सो युवकलाई पनि नियन्त्रणमा लिएको जनाएको छ । त्यस युवकले आफूले ती युवतीसँग विवाह गर्न स्वीकार गरे पनि बच्चा भने नस्वीकारेको जानकारी प्रहरीलाई गराएका थिए ।

ती युवतीका बुबाआमाले पनि त्यस युवकलाई विवाह गर्न दबाब दिएको तर उसले आफूले बच्चा नस्वीकार्ने बताएको जानकारी युवतीका बुबाले प्रहरीसामु गराएका छन् ।

भारतमा १८ वर्षभन्दा कम उमेरमा गरिने यौन सम्पर्कलाई बलात्कारका रूपमा लिने कानूनी प्रावधान छ । भारतका गाँउगाँउमा बलात्कारका घटना निकै बढ्ने गरेको छ ।

भारतको सरकारी तथ्याङ्कमा सन् २०१५ मा मात्र करिब २० हजार बलात्कारका घटना प्रहरीमा दर्ता भएका थिए । बलात्कारजस्ता कार्यलाई निरुत्साहित गर्न भारतमा कडा कानूनी व्यवस्था गरिएको भए पनि यस्ता दुव्र्यवहारमा कमी आउन सकिरहेको छैन । –एजेन्सीको सहयोगमा