प्रदेश 1

समाजकै डरले खुल्न सक्दैनन् अपाङ्गता भएका व्यक्ति

इलाम । अपाङ्गता भएको खुल्ने डरले कतिपयले अझै पनि अपाङ्गतासम्बन्धी परिचयपत्र नै नलिने गरेको पाइएको छ । अपाङ्गता हुनुपूर्व जन्मको पाप हुनु, समाजबाट परम्परागत सोच हाबी हुनु वा परिवारले परिचयपत्र बनाउँदा अंश दिनुपर्ने धारणाले पनि अपाङ्गता भएका व्यक्तिले परिचयपत्र लिन सकेका छैनन् । सो सम्बन्धी काम गर्दै आएको संस्था करुणा फाउण्डेशनका अनुसार अझै पनि विभिन्न कारणले पाँच प्रतिशत अपाङ्गता भएका व्यक्तिले जिल्लामा परिचयपत्र पाउन सकेका छैनन् । सो फाउण्डेशनका छवि श्रेष्ठका अनुसार समाजमा अपाङ्गता हुनु पूर्वजन्मको पाप हो भन्ने पराम्परागत धारणाले गर्दा सबै त्यस्ता व्यक्तिले परिचयपत्र लिन नसकेका हुन् ।

“कतिपयले नागरिकता नै बनाएका हुँदैनन् । किनकि नागरिकता बनाउँदा परिवारकै सदस्यले अंश दिनुपर्ने वा आफूसमेत अपहेलित हुने डरले बनाउन नदिने गरेका छन्,” श्रेष्ठले भने, “त्यसै पनि यस्ता व्यक्ति परिवारले बोझ भएको ठान्छन् । त्यसमाथि पनि परिचयपत्र दिलाउँदा अधिकारसमेत दिनुपर्दा नबनाउनु नै ठीक भन्ने ठान्छन् ।”

उनका अनुसार सो फाउण्डेशन र स्थानीय सरकारले पहल गर्दासमेत कतिपयले परिचयपत्र नबनाउने गरेको पाइएको छ । इलाममा चार हजार ४०२ अपाङ्गता भएका व्यक्ति रहेको एक सर्वेक्षणले देखाएको छ । जिल्लाका १० स्थानीय तहमा फाउण्डेशन इलाम र स्थानीय तहको समन्वयमा निकालिएको तथ्याङ्कमा शारीरिक तथा मानसिक रोगीको सङ्ख्या रहेको पाइएको हो । जिल्लामा सबैभन्दा बढी अपाङ्गता भएका व्यक्ति सूर्योदय नगरपालिकामा ७२८ र सबैभन्दा कम सन्दकपुर गाउँपालिकामा २३२ जना रहेको पाइएको छ ।

इलाम नगरपालिकामा ७१०, माई नगरपालिकामा ३३१, देउमाई नगरपालिकामा ५३३ जना अपाङ्गता भएका व्यक्ति रहेको पाइएको छ । गाउँपालिकामध्ये माङसेबुङ गाउँपालिकामा ४८४, चुलाचुली गाउँपालिकामा ४१५, रोङ गाउँपालिकामा ३४३, माई जोगमाई गाउँपालिकामा ३३१ छन् ।

स्थानीय सरकारसँगको समन्वयमा फाउण्डेशन इलामले हेरचाहका लागि उत्प्रेरणा कार्यक्रमअन्तर्गत गरिएको सर्वेक्षणमा जिल्लाका ८१७ जनालाई समुदायमा पुनः स्थापना गरिएको पाइएको छ । फाउण्डेशनका प्रदीप अधिकारीका अनुसार ९५ प्रतिशत अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्रसमेत वितरण गरिसकिएको छ । यसअन्तर्गत चार हजार २५७ गर्भवती महिला र १० वर्षभन्दा कम उमेरका बालबालिकाको सङ्ख्या ५३ हजार ५१७ रहेको जनाइएको छ ।