अन्तर्राष्ट्रिय

तीन साताअघि पक्राउ परेका विपक्षी नेता थुनामुक्त

मस्को । रसियाको राजधानी क्रेमलिनमा विरोध प्रदर्शन आयोजना गरेको भन्दै तीन साताअघि पक्राउ परेका रसियाका विपक्षी नेता अलेक्सी नाभाल्नी आइतबार थुनामुक्त भएका छन् ।

मस्कोको दक्षिणमा रहेको एक कारागारबाट आइतबार बिहानै मुक्त गरिएका ४२ वर्षीय नाभाल्नीले पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै विगत ५० दिनदेखि कारागारमा थुनिएको घटनाले के कुरा प्रमाणित गरेको छ भने राष्ट्रपति भ्लादिमिर पुटिनको सत्ता पूर्णरुपमा पतनको स्थितिमा पुगेको बर्ताए ।

नाभाल्नीले मस्कोको गुप्तचर निकाय विदेशमा असफल भइसकेको तथा स्वदेशमै पनि रुसी अन्तरिक्ष यानको प्रक्षेपण असफल भएको दृष्टान्त दिए ।

“कसै कसैले गिरफ्तार गरेर हामीलाई तर्साउन वा रोक्न सकिन्छ भन्ने सोचेका होलान् त्यो कदापी सम्भव छैन,” आफूलाई सहयोग गर्नेहरुप्रति धन्यवाद दिँदै उनले भने ।

रसियाको सत्ताको विरोधमा प्रदर्शन गरेबापत सेप्टेम्बरमा नाभाल्नीलाई ३० दिन थुनामा राखिएको थियो । तर थुनामुक्त भएलगत्तै प्रहरीले उनलाई अर्को प्रदर्शनको अभियोगमा गिरफ्तार गरेको थियो । अवकाश उमेर वृद्धि गर्ने क्रेमलिनको योजनाको विरोधमा पछिल्लो प्रदर्शन आयोजना गरिएको थियो ।

रुसी राष्ट्रपतिका पछिल्ला कार्यक्रम र नीतिहरुप्रति आमजनतामा व्यापक असन्तुष्टी रहेका साथै उनको लोकप्रियता समेत खस्किएको छ । गत महिना रुसमा सम्पन्न दुईवटा क्षेत्रीय चुनावमा समेत सत्तारुढ युनाइटेड रसिया पार्टी पराजित भएको थियो ।

रुसी अधिकारीहरुले नाभाल्नीमाथि फौजदारी मुद्दा लगाउन सक्ने उहाँका समर्थकहरुले आशङ्का गरेका छन् । यस्तो अवस्थामा नाभाल्नीमाथि लामो काराबास सजाय हुन सक्नेछ ।

एम्नेस्टी इन्टरनेसनलले नाभाल्नी अस्थाका बन्दी रहेको र उनले कुनै अपराध नगरेको जनाएको छ ।

नाभाल्नी सन् २०११ र २०१२ मा पुटिनको विरोधमा ठुल्ठूला विरोध प्रदर्शन आयोजना गरेर चर्चामा आएका हुन् । संसदीय चुनावमा धाँधली भएको आरोप नाभाल्नीको छ । साथै उनले रुसमा भ्रष्टाचार विरोधी अभियानलाई तीव्र बनाउनु भएको छ । यो अभियानमा युवाको सक्रिय र व्यापक समर्थन रहेको छ ।

पछिल्लो काराबाससँगै उहाँकी १७ वर्षीया छोरी डारियाले युट्युब कार्यक्रम “मेरो पिढींको आवाज” सञ्चालन गर्नु
भएको छ । मार्चमा भएको राष्ट्रपतीय निर्वाचनमा पुटिनका विरुद्धमा उठ्न नाभाल्नीलाई रोकिएको थियो ।

चौथो कार्यकालका लागि पुटिनको सपथग्रहण हुँदा विरोध प्रदर्शन आयोजना गरेको भन्दै नाभाल्नीलाई एक महिना थुनामा राखिएको थियो ।

अमेरिकाको येले विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका र छोटो समयमा प्रमुख विपक्षी नेताको रुपमा उदाएका नाभाल्नीमाथि सत्तापक्षले एकपछि अर्को आरोप लगाएको छ । –एजेन्सीको सहयोगमा