समाचार

कांग्रेस नेता बास्तोला रहेनन्, आज पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको शनिबार राती निधनको भएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार राती ९ः२० बजे बाँस्तोलाको निधन भएको पुष्टी गरेका हुन्।

शनिबार दिउँसो न्यूरो अस्पताल लगेर खुमलटारस्थित घरमा फर्काएदेखि नै बास्तोलाको स्वास्थ्य अवस्था जटिल बनेको थियो। बास्तोलाको अवस्था निकै जटिल बनेको खबर फैलिएपछि शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला लगायत कांग्रेसका नेताहरु बास्तोला निवास पुगेका थिए।

बास्तोलाको निधनको पुष्टी गर्दै प्रवक्ता शर्माले भनेका छन्, ‘अन्तत चक्र दाइ जानू भयो!!!! अहिले भर्खरै रातिको ९.२० मा नेपाली कांग्रेसका अग्रज नेता चक्रप्रसाद बास्तोलाको निधन भएको छ। उहाँको आत्मालाई शान्ति मिलोस् स्वर्गमा!!’

शर्माले भनेका छन्, ‘निधन भएको तथ्यलाई डा. हरि राईले १०ः२० मा उहाँको निवास पुगि परिक्षण मार्फत निक्र्योल गर्नु भएको छ।’

शर्माले आइतबार अपरान्ह दुई छोरी काठमाडौं आइपुगेपछि बास्तोलाको पार्थिव शरीर कांग्रेस केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने जनाएका छन्।

ब्रेन ह्यामरेज भएपछि ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका बास्तोलालाई शनिबार साढे १ बजे न्यूरो अस्पतालका चिकित्सकले ब्रेन र हर्टले काम गर्न छाडेको भन्दै ‘क्लिनिकल्ली डेथ’ भनेर पठाएका थिए। तर उनको शरीरमा अक्सिजनको मात्रा रहुन्जेल मृत्यु भएको हल्लाको खण्डन गरिएको थियो।

०४८ सालमा भारतका लागि नेपालको राजदूत रहेका बास्तोला चार पटक मन्त्री बनेका थिए। ०५८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी परराष्ट्रमन्त्री थिए।