राजनीति

प्रधानमन्त्रीले ओलीले ‘इमानको इन्द्रेनी’ विमोचनमा के-के भने ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको बाटोमार्फत देशलाई समृद्ध पार्न सकिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केशव बडालको जीवनीमा आधारित ‘इमानको इन्द्रेनी’ कृतिको आज विमोचन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

सरकारको तीनखम्बे अर्थनीतिअन्तर्गत सार्वजनिक, निजी तथा सहकारीको अवधारणा अघि सारेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सानो पूँजीलाई एकत्रित गरी आर्थिक समृद्धिका लागि सहकारीको भूमिका अतुलनीय रहेको औँल्याए ।

कृषिलाई आधुनिकीकरणका लागि समेत सहकारीको माध्यामबाटै जानुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले जमीन खण्डित भइरहेको प्रति चिन्ता व्यक्त गरे ।

“बडाल सहकारीका पण्डित हुनुहुन्छ, सहकारी आन्दोलनमा उनले पु¥याएको योगदान महत्वपूर्ण छ, उहाँसँग थुप्रै अनुभव छ, त्यसलाई राष्ट्रियकरण गर्नुपर्छ”, प्रधानमन्त्रीले भने ।

उनले पार्टीको छलफलमा समेत बडालले सहकारीका एजेण्डा ल्याउने गरेको स्मरण गर्दै प्रकाशित पुस्तक बडालको सम्मान र स्विकारोक्ति हो भने ।
पुस्तकमाथि टिप्पणी गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजनीतिक इमान्दारिताको खडेरी परिरहेका बेला आएको कृति ‘इमानको इन्द्रनी’ले राजनीतिक इमान्दारिताको पात्र खडा गरेर पुनः बहसमा ल्याइदिएको बताए ।

भूमि व्यवस्थापन, सहकारी आन्दोलनमा बडालले गर्नुभएको योगदानको मन्त्री ज्ञवालीले सराहना गरे । लेखक अनिल पौडेलद्वारा लिखित उक्त कृति भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । लेखक पौडेलले इन्द्रेनीका सप्तरङ्गी छटाहरू बडालमा देखिएकाले कृतिको सारतत्व नै स्वाभिमान, कर्तव्यनिष्ठ र इमान रहेको उल्लेख गरे ।

केशव बडाल सहकारी पत्रकारिता सम्मान

यसैबीच यस वर्षबाट केशव बडाल सहकारी पत्रकारिता सम्मान वितरण शुरु गरिएको छ । अन्तर्राष्ट्रिय सहकारी महासङ्घकी सञ्चालक ओमदेवी मल्लद्वारा स्थापित रु एक लाख एक हजार राशिको कोषमार्फत यस वर्षबाट पत्रकारिता सम्मान प्रदान गर्न थालिएको हो ।

सहकारीको क्षेत्रमा पत्रकारितामार्फत गरेको योगदानको कदर गर्दै हरेक वर्ष उक्त सम्मान वितरण गरिने जनाइएको छ ।

यस पटक पहिलो सम्मान नेपाल सहकारी पत्रकार समाजका संस्थापक अध्यक्ष यादव हुमागाईंलाई प्रदान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई सम्मान प्रदान गरेका थिए ।