शिक्षा

समृद्धिको यात्रा सफल पार्न यसो गर्नैपर्छः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जैविक तथा प्राकृतिक सम्पदाको अध्ययन, अनुसन्धान गरी तिनीहरूको उचित उत्पादन तथा उपयोगबाट समृद्धिको यात्रा सफल पार्न सकिने बताएका छन्।

विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका अवसरमा विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू क्षेत्रमा अवस्थित त्रिभुवन विश्वविद्यालयअन्तर्गतको प्राकृतिक विज्ञान सङ्ग्रहालय परिसरमा वृक्षरोपण गर्दै उनले जैविक विविधताले भरिपूर्ण एवं प्रकृतिमा पाइने अनगिन्ती सम्पदा नै मावन जातिको समृद्धिको आधार भएको बताए ।

प्रकृति मानवलगायत चराचर जगत्को बासस्थान भएको उल्लेख गर्दै उनले भने, “नेपाल आफैँमा भौगोलिक तथा प्राकृतिक विविधताले युक्त देश हो, यहाँका प्राकृतिक सम्पदा अमूल्य छन् । प्रकृतिक सङ्ग्रहालयमा सङ्ग्रहित स्रोतले नेपाल विश्वकै प्रकृतिको प्रतिनिधित्व गर्दछन् ।”

सङ्ग्रहालयमा करीब ५५ हजार प्रजातिका जीवजन्तु र बोटबिरुवाका नमूना ज्ञानका स्रोत भएको बताउँदै उनले यी नमूनाको अध्ययनबाट विभिन्न प्रकारका ज्ञानको उत्पादन गर्न सकिने भएकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी, अनुसन्धानकर्ता, जैविक विविधतासँग चासो राख्ने सम्पूर्ण यस सङ्ग्रहालय उपयुक्त हुने विश्वास व्यक्त गरे ।

सङ्ग्रहालयलाई केबल जीवजन्तु र बोटबिरुवाको सङ्कलन र सङ्ग्रह गर्ने थलोका रूपमा विकास नगरी बहुआयामिक उपयोगमा जोड दिँदै उनले नेपालमा पाइने अमूल्य जडीबुटीको अध्ययन, अनुसन्धानलगायत विभिन्न कार्यमा जोड्न सके सङ्ग्रहालयको महत्व अझ बढेर जाने बताए ।

सङ्ग्रहालयको कार्यक्षेत्र विस्तार गरी अनुसन्धान केन्द्रसमेत बन्ने सम्भावना देखिएको बताउँदै उनले भने, “सङ्ग्रहालय भन्ने बित्तिकै सिकाइको केन्द्र हो, यसबाट प्रशस्त ज्ञान हासिल गर्न सकिन्छ । प्राकृतिक सङ्गहालय प्रकृतिमा यत्रतत्र खोज्नुपर्ने विभिन्न जीवजन्तु र बोटबिरुवाको अध्ययन गर्न समय र स्रोत साधनले नभ्याउने अवस्थामा पनि अध्ययन, अनुसन्धान गर्ने उचित स्थान हुनसक्छ ।”

सङ्ग्रहालयलाई थप व्यवस्थित बनाउन सरकार तयार रहेको बताउँदै उनले त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरेर सङ्ग्रहालयको सुधारका लागि पहल गर्ने विश्वास दिलाए ।

जलवायु परिवर्तन, विश्वव्यापी उष्णीकरण, अम्लवर्षालगायतका असर न्यूनीकरण गर्नुपर्ने वातावरणीय चुनौतीका सामना गर्ने गरी अघि बढ्नु जरुरी रहेको बताउँदै मन्त्री पोखरेलले सङ्ग्रहालयलाई आकर्षक र ज्ञानबद्र्धक बनाउने दिशामा अघि बढाउनु पर्नेमा जोड दिए ।

उहाँले यस सङ्ग्रहालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राज्ञिक संस्था तथा सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरी स्थापित, मुलुकका विभिन्न विश्वविद्यालय, महाविद्यालयका विद्यार्थीसँग जैविक विविधतासम्बन्धी चेतना अभिवृद्धि गर्नुपर्ने खाँचो औँल्याए ।

नेपालमा अन्यत्र कहीँ कतै नपाइने दुर्लभ जीवजन्तु र बोटबिरुवा यहाँ पाइनु गौरवको विषय भएको उल्लेख गर्दै मन्त्री पोखरेलले लोपोन्मुख र दुर्लभ सम्पदाको संरक्षण हुने गरी व्यवस्था गर्नु जरुरी रहेको औँल्याए । मुलुकको जैविक विविधता एवं पर्यावरण संरक्षणका क्षेत्रमा सङ्ग्रहालयले प्रमुख भूमिका निर्वाह गरेको बताउँदै उहाँले प्राकृतिक विज्ञान सङ्ग्रहालयलाई भौतिक पूर्वाधार र मानव संशाधनयुक्त गरी सुदृढ बनाउनुपर्ने आवश्यकता आँैल्याए ।

कार्यक्रममा सङ्ग्रहालयका प्रमुख प्रा डा धर्मराज डङ्गोलले नेपालको प्राकृतिक सम्पदाको अध्ययन, अनुसन्धान गर्ने, प्राप्त अनुसन्धानात्मक नतिजाको अभिलेख तयार गर्ने, नमूना सङ्कलन र संक्षरण गरी आम जनतालाई सुसूचित र जागरण गराउनु सङ्ग्रहालयको उद्देश्य भएको बताए ।

विसं २०३२ मा स्थापित यस सङ्ग्रहालयलाई नेपाल सरकारले सङ्कटापन्न एवं लोपोन्मुख वन्यजन्तु तथा वनस्पतिको अवैध रूपमा हुने सङ्कलन, ओसारपसार र व्यापारलाई नियन्त्रण गर्न बनेको महासन्धि (साइटिस) को वन्यजन्तु सम्बन्धितको आधिकारिक निकाय तोकेको छ । सङ्ग्रहालयमा करीब ५५ हजार प्रजातिका जीवजन्तु र बोटबिरुवाका नमूना सङ्ग्रहित रहेको बताइएको छ ।

सङ्ग्रहालयले देश विदेशका वैज्ञानिकका प्रकृतिसम्बन्धी अध्ययन अनुसन्धानका नतिजालाई वैज्ञानिक समुदाय र जनमानसमा पु¥याउने उद्देश्यले सन् १९७७ देखि ‘जर्नल अफ नेचुरल हिस्ट्री म्युजियम’ प्रकाशन गर्दै आएको छ । सार्वजनिक बिदाका दिनबाहेक यस सङ्ग्रहालय सर्वसाधारणका लागि खुला रहने गरेको छ ।