राजनीति

सङ्घीयता कमजोर बन्दा समेत सरकार मुकदर्शक बनेको छः कांग्रेस नेता महत

पोखरा । नेपाली काङ्ग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा रामशरण महतले सङ्घीय संरचना महङ्गो बन्दा सङ्घीयता कमजोर बन्दै गएको बताएका छन् । नेपाली लेखक सङ्घ कास्कीद्वारा आज यहाँ आयोजित नेपालको वर्तमान सङ्घीय प्रादेशिक र स्थानीय कर प्रणाली विषयक अन्तक्र्रियामा उनले ठूलो संरचनाको सङ्घीयताका कारण आर्थिक बोझ बढ्दै गएको बताए ।

सङ्घीय संरचना धान्नकै लागि देशैभरी करवृद्धि र स्थानीय तहमा कानून विपरीत कर उठाउन थालिएको बताउँदै उनले कर उठाउने नीति नियम स्पष्ट नहुँदा जनताले महङ्गो कर तिर्न बाध्य भएको उल्लेख गरे ।

देशमा तीन तहको सरकार र स्थानीय तहमा मात्र ७५३ सरकार रहेको उल्लेख गर्दै उनले तीनवटै सरकारको प्रशासनिक संरचना ठूलो र देशको अर्थतन्त्र सानो हँुदा देशले आर्थिक रुपमा धान्न मुस्किल भएको धारणा राखे ।

देशको ढुकुटी अनुत्पादक क्षेत्रमा खर्च गर्ने, भत्ता बढाउने, तालीम र गोष्ठीमा फजुल रुपमा पैसासक्ने जस्ता प्रवृत्ति रोकिनुपर्नेमा उनको जोड छ । सङ्घका अध्यक्ष गणेश शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रा डा वेदनाथ शर्माले नेपालको वर्तमान सङ्घीयता र स्थानीय कर प्रणाली विषयक आधारपत्र प्रस्तुत गरेका थिए ।