बाग्मती

ज्येष्ठ नागरिक सम्मानित

काठमाडौँ । ज्येष्ठ नागरिक समाज, नेपालले पाँचजना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । समाजले यहाँ आज सम्मान कार्यक्रमको आयोजना गरी ज्येष्ठ नागरिक चन्दकुमारी जोशी, कृष्णबहादुर विष्ट, वीरबहादुर चौहान, जगनाथ अर्याल र शिवराम खड्कालाई सम्मान गरेको हो ।

सो अवसरमा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीले ज्येष्ठ नागरिकले पाउँदै आएको रु दुई हजार वृद्धभत्ता समयअनुसार वृद्धि गर्नुपर्नेमा जोड दिए । समाजका अध्यक्ष चिरञ्जीवी कँडेलले ज्येष्ठ नागरिकले आर्जन गरेको ज्ञान, सीप र अनुभवको कदर हुनुपर्ने बताए । ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ मा यातायात र स्वास्थ्योपचारमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरिए पनि त्यो अहिलेसम्म पूर्णरुपमा कार्यान्वयन आउन सकेको छैन ।

बजार भाउ र महँगीलाई ध्यानमा राखेर ज्येष्ठ नागरिकले पाउँदै आएको वृद्धभत्ता कम्तीमा रु पाँच हजार पु¥याउनुपर्ने माग गर्दै आएका छन् । विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले रु १०० बाट शुरु गरेको वृद्धभत्ता अहिले रु दुई हजार पुगेको छ । विसं २०६८ को जनगणनाअनुसार ज्येष्ठ नागरिकको सङ्ख्या (६० वर्ष पुगेका) २५ लाखअर्थात् कूल जनसङ्ख्याको ८.१३ प्रतिशत छ । हाल विश्वमा ६० वर्ष पुगेका ज्येष्ठ नागरिक करीब रु ८० करोड रहेको अनुमान छ । यो सङ्ख्या सन् २०५० सम्ममा रु दुई अर्ब पुग्ने अनुमान गरिएको छ ।