खेलकुद

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित

काठमाडौँ । नेपाल ओकिनावा सुरिकेन सोरिनरियो कराते सङ्घले आफ्ना अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ ।

सिङ्गापुर अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपका कास्य विजेताद्वय आर्यन रञ्जित, सागर शाही तथा थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपकी रजत विजेता कृति गौतम र कास्य विजेता डिगम्बरप्रसाद पन्तलाई सम्मान गरेको हो । सोही अवसमा गत साता भक्तपुरमा भएको विद्या आर्जन उपत्यकाव्यापी कराते तथा किक बक्सिङ प्रतियोगिताको कुमुते ५० केजीमा स्वर्ण जित्नुका साथै उत्कृष्ट खेलाडी घोषित भएकी आयुष तामाङलाई पनि सम्मान गरिएको थियो ।

पाँचैजना खेलाडीलाई सङ्घका उपाध्यक्ष रोशन विष्टले जनही रु पाँच हजारसहित सम्मान गरे । सो अवसरमा पाँचै पदक विजेतालाई सङ्घका सल्लाहकार एवं नेपाल भारोत्तोलन सङ्घका उपाध्यक्ष रामकृष्ण श्रेष्ठले रु सात हजार मुल्य बराबरको झोलापनि प्रोत्साहनस्वरुप खेलाडीलाई प्रदान गरे ।

कलिलै उमेरमा अन्तर्राष्ट्रिय पदक जितेवापत आठ वर्षीय आर्यनलाई सङ्घका उपाध्यक्ष किशनराज सिंहले रु २० हजार प्रदान गरे । सङ्घका सदस्य अच्यूत लामिछानेले पनि प्रोत्साहनस्वरुप आर्यनलाई रु पाँच हजार प्रदान गरे । नेपाल तेक्वान्दो सङ्घ काठमाडौँले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई सम्मान गरेको छ ।

सङ्घले बिहीबार एक कार्यक्रमको आयोजना गरी यस वर्ष अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सम्मान गरेको हो । यसै वर्ष अस्ट्रेलियामा भएको गोल्ड कोस्ट ओपन तेक्वान्दो, थाइल्यान्डको चौथो हिरोज तेक्वान्दो, वाटा तेक्वान्दो च्याम्पियनसिप र मकाउमा भएको मकाउ ओपन तेक्वान्दो च्याम्पियनसिपमा पदक विजेता ४२ खेलाडीलाई सम्मानित गरेको कार्यसमितिका सचिव कुमार लामा घिसिङले जानकारी दिए । पदक विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) केशवकुमार विष्ट, नेपाल तेक्वान्दो सङ्घका उपाध्यक्ष हरिशवर पोख्रेल, तेक्वान्दो सङ्घ प्रदेश–३ का अध्यक्ष केशव पुरीलगायतले सम्मानपत्रद्वारा सम्मानित गरेका थिए ।