शिक्षा

शिक्षकका लागि गाउँपालिकाको अनुदान

बाँके । खजुरा गाउँपालिकाले पहिलो पटक विद्यालय तहमा शिक्षक व्यवस्थापनका लागि बजेट विनियोजन गरेको छ । गाउँपालिकाका स्रोत व्यक्ति टङ्क दाहालका अनुसार छ वटा मावि, १० आधारभूत, तीन प्रावि र तीन मदरसाका लागि अनुदान दिने निर्णय गरिएको हो । अमर मावि सिगाउँ, मावि मनकामनापुर, मावि गोदहना, पशुपति मावि घियालाई एक/एक शिक्षक र जनसेवा मावि गिजरालाई दुई शिक्षकका लागि एक शिक्षक बराबर रु तीन लाखका दरले अनुदान छुट्याउने निर्णय गरिएको छ ।

त्यस्तै जनसेवा मावि गिजरा, मावि मनकामनापुर, पशुपति भानु मावि उढरापुर, आधारभूत नेरा निमावि धौलागिरि, मनकामना इगाउँ, नेरा आदर्श आधारभूत निमावि डिगाउँ, जनकल्यान निमावि गिजरा, आधारभूत प्रावि सिन्दुरीका लागि एक/एक जना शिक्षक दरबन्दीका लागि एक शिक्षक बराबर वार्षिक रु दुई लाखका दरले बजेट विनियोजन गरिएको शिक्षा समितिका सदस्य सचिव विश्वराज ढकालले जानकारी दिए।

अम्बेमाता प्रावि बुद्धपुर, कालिका प्रावि सोनवर्षा, अमृता प्रावि सोनपुरका लागि पनि एक/एक शिक्षक दरबन्दीका लागि रु एक लाख ५० हजारका दरले बजेट छुट्याइएको छ । उढरापुर, सोनपुर र रनियापुरमा रहेका तीन मदरसालाई पनि रु एक लाख वार्षिक अनुदान दिने गरी निर्णय गरिएको छ । खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिका अनुसार गत वर्ष कम्प्युटर प्रदान गरिएका समुदायिक विद्यालयका कम्प्युटर शिक्षकलाई दशैँ र तिहारको बीचमा १५ दिने तालीम दिइने, विद्यालय कर्मचारीका मागलाई सम्बोधन गर्दै वार्षिकरूपमा खाँदै आएको सेवामा रकम थप गरिनेछ ।

कुल १४ मावि, पाँच निमावि, १२ प्रावि १७ मदरसा र ६६ बाल विकास रहेको खजुरा क्षेत्रभित्र शिक्षक दरबन्दी व्यवस्थापन, कम्प्युटर तालीम, विद्यालय कर्मचारी, बाल विकास कर्मचारीलाई थप र कक्षकोठा सवलीकरण गरी करीब रु ७९ लाख ४३ हजार छुट्याइएको जनाइएको छ ।
गाउँपालिले मदरसालाई थप व्यवस्थित गर्न निशार अली दर्जीको संयोजकत्वमा कार्यदलसमेत गठन गरेको छ ।