खेलकुद

ट्वान्टी—२० विश्वकप छनोट : सिंगापुरलाई हराउँदै उपाधि जित्ने दाउमा नेपाल !

काठमाडौं ।  नेपालका लागि सिंगापूर बलियो प्रतिद्वन्द्वी होइन । आइसिसी ट्वान्टी—२० विश्वकप छनोटअन्तर्गत एसिया पूर्वी क्षेत्रको छनोटमा पनि नेपाल सिंगापूरमाथि सहज जित निकाल्दै विजेता बन्न चाहन्छ ।

मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा नेपालले सिंगापुुरसँग १२.१५ बजे प्रतिस्पर्धा गर्नेछ । राउण्ड रोविन लिगका आधारमा भएको प्रतियोगितामा समान ८ अंकका साथ नेपाल र सिंगापुर क्रमश पहिलो र दोस्रो स्थानमा छ । शुक्रबारको खेलले विजेताको टुंगो लाग्नेछ । यसअघिका सबै खेलमा नेपालले जितका लागि संघर्ष गर्नु परेको छैन ।

सात टोली सम्मिलित एसियाको पूर्वी क्षेत्रबाट नेपाल र सिंगापूरले अघिल्लो चरणमा स्थान बनाइसकेका छन्.। चीन र थाइल्यान्डबीचको खेलले तेस्रो टोलीको पनि टुंगो लाग्नेछ । चीनलाई पराजित गरे मलेसिया र थाइल्यान्ड मध्ये राम्रो रनरेटका आधरमा एक टोली अघिल्लो चरण पुग्नेछन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपालले म्यानमार र मलेसियालाई समान ८ विकेटको नतिजामा पराजित गरेको थियो भने भने चीनलाई १० विकेटले हराएको थियो । थाइल्यान्डमाथि १ सय ७२ रनले विजय निकालेको नेपालले भुटानलाई १ सय १७ रनले पराजित गरेको थियो ।

पछिल्लो दुई ट्वान्टी–२० खेलको नतिजा नेपालको पक्षमा छ । २००९ नोभेम्बर २९ मा एसिसी ट्वान्टी–२० कपमा पाँचौ स्थानका लागि भएको प्लेअफ खेलमा नेपालले सिंगापुरलाई ९ विकेटले हराएको थियो भने २०१३ मे ३१ मा नेपालमै भएको एसिसी ट्वान्टी कपमा नेपालले सिंगापुरमाथि १ सय २१ रनको विजय हासिल गरेको थियो ।