पत्रपत्रिका

गौतमको उम्मेदवारीबारे नेकपाभित्रै रडाको

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमलाई उपनिर्वाचनमार्फत सांसद बनाउने विषयमा पार्टीभित्र विवाद चुलिएको छ ।

नेकपा सचिवालय बैठकमा काठमाडौं–७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले राजीनामा पत्र बुझाएर पत्रकार सम्मेलनमार्फत जानकारी गराएसँगै विवाद चुलिएको हो । गौतमलाई सांसद बनाउने विषयमा पूर्वएमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल भने मौन देखिएका छन् । तर, पूर्वउपाध्यक्ष भीम रावल र पूर्वमहासचिव ईश्वर पोखरेल खुला रूपमै विरोधमा देखिएका छन् । २२ असोजमा बसेको पार्टी सचिवालय बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं–७ का सांसद मानन्धरले गौतमका लागि राजीनामा दिन तयार रहेको भन्दै गौतमलाई त्यस क्षेत्रबाट सांसद बनाउनुपर्ने प्रस्ताव गरेका थिए ।

प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले गौतमले नै इच्छा देखाएको भए कुनै समस्या नरहने बताएका थिएतर, पोखरेलले मानन्धरलाई राजीनामा गर्न लगाएर गौतमलाई उठाउनु राम्रो नहुने र विधि र मान्यताको उपहास हुने भन्दै बैठकमै विरोध जनाएका थिए । बैठकको भोलिपल्ट मंगलबार सांसद मानन्धरले पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेका थिए ।

उनले पार्टी सचिवालयमा राजीनामा बुझाएको र पार्टीले निर्णय गरेलगत्तै सभामुखसमक्ष राजीनामा दिने बताएका थिए । राजधानी दैनिकमा खबर छापिएको छ ।