राजनीति

‘झापामा चुनाव हारेको विश्वप्रकाश काठमाडौंमा उम्मेदवार बन्दैन’ : कांग्रेस प्रवक्ता शर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चर्चामा रहेको काठमाडौं क्षेत्र नम्बर ७ को उपनिर्वाचनमा उम्मेदवारको रुपमा सहभागिता नजनाउने स्पष्ट पारेका छन्।

 एक ट्विट गर्दै नेता शर्माले झापामा चुनाव हारेकाले आफू काठमाडौंमा उम्मेदवार नबन्ने प्रष्ट पारेका हुन्।

यसअघि नेकपाका सचिवालय सदस्य बामदेव गौतमलाई संसदमा जाने बाटो खुल्ला गर्न भन्दै काठमाडौं ७ का निर्वाचित सांसद रामवीर मानन्धरले पार्टीमा सांसद पदबाट राजिनामा दिएको पत्र बुझाएका थिए। सोपश्चात् काठमाडौं ७ को उपनिर्वाचनमा कांग्रेसका तर्फबाट शर्माले चुनाब लड्ने चर्चा चलेकाे थियो।

आफूप्रति जताइएको शुभेच्छाका लागि आभार प्रकट गर्दै प्रवक्ता शर्माले लेखेका छन्, ‘व्यक्तिले शक्तिको खोजी गरिरहँदा राजनीतिक संस्कृतिको पाटो र बाटोलाई भुल्न मिल्छ र?’

गत वर्ष भएको प्रतिनिधिसभा निर्वाचनमा शर्मा झापा क्षेत्र नम्बर १ बाट नेकपा नेता राम कार्कीसँग पराजित भएका थिए। हाल उपनिर्वाचनका लागि शर्मासँगै विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रलगायतको समेत चर्चा सुनिएको छ।

यसअघि नेकपा नेता गौतम बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएका थिए। उनलाई सांसद बनाउने भन्दै यसअघि डोल्पा, दैलेख, बैतडी, बाँके र नवलपरासीलगायत जिल्लाका नेकपाका सांसदहरुलाई राजीनामा गराउने प्रयास गरिएकाे थियो। तर, कुनै पनि क्षेत्रका सांसदहरुले राजीनामा दिन नमानेपछि अन्ततः काठमाडौं ७ का निर्वाचित सांसद मानन्धर सांसद पद त्याग्न राजी भएका थिए।

सो सँगै एक जना व्यक्तिको लागि शक्तिको आडमा लोकतन्त्रको उपहास गरिएको तथा उपनिर्वाचनका नाममा राज्यलाई व्ययभार थप्न नहुने भन्दै सामाजिक सञ्जालमा तीव्र असन्तुष्टिसमेत जनाइएको छ।