पु.समाचार

नौबीसे–नागढुंगामा मालबाहक सवारी प्रवेशमा रोक, २४ सै घण्टा प्रहरी परिचालन

धादिङ  । चाडबाडका बेला अत्यधिक सवारी चापलाई मध्यनजर गर्दै नौबीसे–नागढुंगा सडकमा जाम हुन नदिन मालवाहक सवारीसाधन प्रवेशमा बुधबारदेखि रोक लगाइएको छ । एक सातासम्मका लागि ठूला मालवाहक सवारीसाधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक डम्बर विकले बताए ।

चाडपपर्व मनाउन राजधानीबाट बाहिरिने सवारीसाधनको चाप बढ्ने भएका कारण प्रवेशमा रोक लगाइएको हो। यात्रुहरूलाई सुरक्षित र समयमा नै गन्तव्यमा पुर्‍याउन विभिन्न घुम्तीमा २४ घण्टा प्रहरी पनि परिचालन गरिएको छ।

क्षमताभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधन उकालोमा बिग्रेर जाम हुने गरेको छ। जसका कारण राजमार्ग हुँदै राजधानीबाट बाहिरिने र भित्रिने सयौं सवारीका हजारौं यात्रुले झन्झट बेहोर्नुपरेको छ। चितवन जिल्लादेखि नै राजधानी प्रवेश गर्ने मालवाहक सवारीलाई रोक्ने बताइएको छ।

ठूला ढुवानी साधन राजधानी प्रवेशमा रोक लगाइएपछि चितवनको कुरिनटार, फिस्लिङ, चुम्लिङटार, जोगीमारा, मझिमटार, मौवाखोला, विशालटारलगायत स्थानमै रोकिएका छन्।