प्रदेश 1

सबैभन्दा धेरै चर्पी बनाउदै कचनकवल गापा खुला दिसामुक्त घोषणा

कचनकवल । नेपालकै होचो स्थानमा रहेको झापाको कचनकवल गाउँपालिका बुधबार खुला दिसामुक्त घोषणा गरिएको छ । ५ हजार ६ सय ६३ घरधुरीमा पछिल्लो एक वर्षको अवधिमा चर्पी बनाई गाउँपालिका खुल्ला दिसामुक्त घोषणा गरिएको हो । ९ हजार ६६ घरधुरी रहेको कचनकवलमा अभियान थालनी हुनुअघि ३ हजार ४ सय ३ घरमा सुरक्षित चर्पी रहेका थिए ।

जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले गाउँपालिका खुल्ला दिसामुक्त भएको घोषणा गरे । उनले समितिको तर्फबाट गाउँपालिकालाई खुल्ला दिसामुक्त घोषणाको प्रमाणपत्र समेत प्रदान गरे ।

घोषणा समारोहमा प्रमुख अतिथि पोर्तेल र गाउँपालिकाका अध्यक्ष अन्जार आलमले गाउँपालिकाको पूर्ण सरसफाइ रणनीतिक योजना र वातावरण तथा सरसफाइ कार्यविधि समेत जारी गरे । कार्यविधि जारी गरेसँगै कचनकवल गाउँपालिकामा खुल्लामा दिसा गर्ने कार्य कानुनी रुपमा दण्डनीय भएको छ भने बुधबारदेखि नै पूर्ण सरसफाइ अभियान औपचारिक रुपमा थालनी गरिएको छ ।

सदरमुकाम र सुगम नगर नै वाधक

झापा जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने कार्यमा सदरमुकाम र सुगम गाउँपालिका एवम् नगरपालिका नै वाधक भएको जिल्ला समन्वय समितिका प्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि सोमनाथ पोर्तेलले बताए । “हामी निर्वाचित भएर आउँदा साढे पाँच हजार घरधुरीमा चर्पी बनाउन बाँकी रहेको कचनकवल वर्षा याम नसकिंदै खुल्ला दिसामुक्त भयो, झापाकोमात्र नभै नेपालकै सबैभन्दा होचो कचनकवलमा पर्ने साविक केचना मध्य वर्षा याममा खुल्ला दिसामुक्त घोषणा भयो”, उनले भने, “तर, सदरमुकाम भद्रपुरमा वर्षाको बहानामा चर्पी बन्न सकेनन् ।”

नेपालको पूर्वको प्रवेशद्वार मेचीनगर र समृद्ध गाउँपालिकाको रुपमा चिनिने हल्दिबारीका कारण असोज महिनाभित्र झापा जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने लक्ष्यमा धक्का लागेको उनले स्मरण गरे । “आदिवासी जनजाति र पछाडि पारिएका वर्गमात्र बसोबास गर्ने गौरीगञ्ज साढे चार हजार चर्पी बनाउँदै खुल्ला दिसामुक्त घोषणा भयो । झापा गाउँपालिका एक महिनाघि नै खुल्ला दिसामुक्त घोषणा भयो”, उनले प्रश्न गरे, “एक वर्षअघि नै खुल्ला दिसामुक्त हुनैलाग्यो भन्ने हल्दिबारीलाई केले छेक्यो ? हामी आफै खुल्ला दिसामुक्त गर्छौं, बाहिरी सहयोग चाहिदैन भन्ने मेचीनगरलाई खुल्ला दिसामुक्त अवस्था हासिल गर्न केले रोक्यो ?”

जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अनुसार हल्दिबारीको वडा नं. २ मा ६२ चर्पी निर्माण हुन बाँकी रहेका छन् भने भद्रपुरमा ३ सय ३४ र मेचीनगरमा १ सय ५० चर्पी निर्माण हुन बाँकी रहेका छन् । बाँकी ५ सय ४६ चर्पी निर्माण भएमा जिल्ला नै खुल्ला दिसामुक्त घोषणा गर्ने बाटो खुल्छ ।

पूर्ण सरसफाइको यात्रा स्वागतयोग्य
घोषणा समारोहका वक्ताहरुले गाउँपालिकाले पूर्ण सरसफाइको यात्रा औपचारिक रुपमा थालनी गरेकोमा बधाइ दिए । “खुल्ला दिसामुक्त अभियानका उपलब्धीको दिगोपन र समुन्नत समाज निर्माणका लागि पूर्ण सरसफाइ आवश्यक हुन्छ”, अध्यक्ष पोर्तेलको भनाइ थियो, “कचनकवल गाउँपालिकाले पूर्ण सरसफाइ रणनीतिक योजना र वातावरण तथा सरसफाइ कार्यविधि जारी गरेर पूर्ण सरसफाइको यात्रा औपचारिक रुपमा थालनी गरेको छ ।”

घोषणा समारोहका विशेष अतिथि भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले कचनकवल गाउँपालिकाबाट आफूले धेरै सिक्न पाएको बताए । “दूर्गम र पछाडि परेको ठाउँको रुपमा लिइने कचनकवलले खुल्ला दिसामुक्त घोषणा गरी समुन्नतिको एक थप सूचक पूरा गरेको छ”, श्रेष्ठले भने, “हामी सदरमुकामवासीले यसबाट राम्रो पाठ सिक्न पाएका छौं ।”

जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाको बैठकले आर्थिक वर्ष २०७५÷०७६ लाई पूर्ण सरसफाइ अभियान वर्षको रुपमा मनाउने निर्णय समेत गरिसकेको छ ।

गाउँपालिका उपाध्यक्ष निमसरी राजवंशी र नेकपाका हरि घिमिरेले चर्पीको समुचित प्रयोग तथा मर्मतसम्भार गर्नुपर्नेमा जोड दिंदै खुल्लामा दिसा गर्ने वानीलाई पूर्ण रुपमा हटाउनका लागि नीतिगत कडाइ गर्नुपर्ने बताए ।

वडा नं. ६ का अध्यक्ष कूलबहादुर कार्की, श्रोत व्यक्ति होमनाथ गुरुङ, सूचना अधिकृत केशव मैनाली लगायतले पूर्ण सरसफाइ अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

लाखे नाच लगायतका विभिन्न साँस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको घोषणा समारोहमा खुल्ला दिसामुक्त अभियानमा सहयोग गर्ने संघसंस्था, निकाय, व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।