अन्तर्राष्ट्रिय

कीमसँगको भेटवार्ता मध्यावधि निर्वाचनपछिः ट्रम्प

वासिङ्टन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता कीम जोङ अनसँगको वार्ता अर्को महिना हुने अमेरिकी मध्यावधि चुनावपछि गर्ने बताए।

राष्ट्रपति ट्रम्प अमेरिकी सिनेटको मध्यावधि चुनावका लागि आजभोलि प्रचारप्रसारमा देश दौडाहामा छन् । चुनावअघि वार्ताको कुनै सम्भावना नरहेको ट्रम्पले बताए । संयुक्तराज्य अमेरिकाका केही राज्यमा आगामी नोभेम्बर महिनामा सिनेटका लागि मध्यावधि चुनाव हुँदैछ । दुवै नेताबीच सिंगापुरमा जुन महिनामा पहिलो शिखर बैठक बसेको थियो ।

सिंगापुरको पहिलो बैठकमा कीम र ट्रम्पले कोरियाली द्वीपमा आणविक निःशस्त्रीकरण गर्ने विषयमा कार्य गर्ने सहमति भएको थियो । उक्त बैठकमा उत्तर कोरियाली नेता कीमले सुरक्षाको प्रत्याभूति भएमा आफ्नो मुलुकको आणविक हातहतियार नष्ट गर्ने प्रतिबद्धता व्यक्त गरे ।

दोस्रो चरणको बैठकका लागि वातावरण तयार गर्न अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले यसै साता उत्तर कोरिया, दक्षिण कोरिया, जापान र चीनको भ्रमण गरे। विदेशमन्त्री पोम्पेओले उत्तर कोरियाली नेतासँगको वार्ता अत्यन्त सकारात्मक रहेको बताए।

उत्तर कोरियाले आफ्नो देशमाथि लगाइएका आर्थिक प्रतिबन्धहरु फुकुवा गर्नुपर्ने बताउँदै आएको छ ।