समाचार

हनुमान ढोकासहित देशभर घटस्थापना

काठमाडौँ । हनुमानढोकास्थित दशैँ घरमा बिहान ७ः१५ को शुभ साइतमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको छ । हनुमानढोकामा पुरातत्व विभागअन्तर्गतको दरबार हेरचाह अड्डाले दशैँ घरमा दियो, कलश र गणेश स्थापना गरी विधिपूर्वक घटस्थापना गरेको हो । घटस्थापनासँगै आज यहाँ राखिएको जमरा विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि प्रसादका रुपमा राष्ट्रपति कार्यालयमा लैजाने गरिन्छ । गणतन्त्र स्थापना हुनु अघि हनुमानढोका दशैँ घरको घडाको जल, जमरालगायत टीका प्रसाद राजदरबार लगिन्थ्यो ।

हनुमानढोकाको दशैँ घरमा राखिएको जमरालगायत टीका प्रसाद ग्रहण गर्न चाहनेका लागि वितरण गर्ने गरिएको छ । हनुमानढोका दरबारको दशैँ घरसँगै नेपालीले आआफ्ना घरको पूजाकोठा वा दशैँघरमा घटस्थापना गरेका छन् । घटस्थापनासँगै आजैदेखि नेपालीको महान् पर्व बडादशैँ शुरु भएको छ । कुनै स्थान र समुदाय विशेषमा भने आश्विन शुक्ल द्वितीयाको रातिको जून हेरेर मात्र घटस्थापना गरी जमरा राख्ने प्रचलन रहेको छ ।
पहिलो दिन शैलपुत्रीको आराधना

नवरात्रको पहिलो दिन आज नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिन्छ । देवीले महासरस्वती, महाकाली र महालक्ष्मीको रुप लिएर फरकफरक काम गर्ने शास्त्रीय मान्यता छ ।

तीन रुप लिएर काम गर्न नवदुर्गा, अष्टमातृका, कुमारी आदिले सहयोगको भूमिका निर्वाह गर्ने भएकाले पहिलो दिन आज शैलपुत्री देवीको पूजा आराधनाको विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। पहिलो दिन आज दुई वर्षकी कन्यालाई कुमारीका रुपमा पूजा गरिन्छ । दोस्रो दिनदेखि तीन, चार गरेर महानवमीका दिन १० वर्षकी कन्याको पूजा गर्ने विधि रहेको पनि उनले बताए ।

नवरात्र शुरु भएसँगै देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ । नवरात्र शक्ति उपासनाका लागि विशेष पर्वका रुपमा मनाइन्छ । उपत्यकाका गुह्येश्वरी, नक्साल र शोभाभगवती, कालिकास्थान, भद्रकालीलगायत देवीस्थानमा भक्तजनको भीड लागेको छ । आजदेखि आश्विन शुक्ल नवमीअर्थात् महानवमीका दिनसम्म प्रत्येक दिन छुट्टाछुट्टै देवीको विशेष आराधना गर्ने विधि छ । स्थान विशेष र समुदायअनुसार कतै आश्विन शुक्ल सप्तमी, कतै महाअष्टमीका दिनदेखि विशेष रुपमा देवीको पूजा आराधना गर्ने परम्परासमेत छ ।

वर्षमा चार नवरात्र परे पनि आश्विन शुक्ल पक्षमा विशेष आराधना गर्ने भएकाले यसलाई बडादशैँ भनिन्छ । पुस, चैत र असारमा पर्ने नवरात्रलाई लुप्त पर्वका रुपमा मनाउने गरिन्छ । यसमध्ये चैतमा पर्ने नवरात्रमा भने चैतेदशैँ मनाउने परम्परा छ ।