प्रदेश 1

एक हप्तामै पाँच युवतीको उद्धार

पशुपतिनगर, इलाम । जीवनभरि सुख दिन्छु विवाह गर्छु भन्दै भारत बेच्न लगिएको जाजरकोटकी १५ वर्षीया युवतीलाई प्रहरीले असोज १६ गते दार्जिलिङबाट उद्धार ग¥यो ।

चौध वर्षको उमेरमा नै विवाह गरेकी उनलाई चार महीनाको नवजात शिशुसहित माइती नेपाल, प्रहरी र सामुदायिक प्रहरीले उद्धार गरेर अहिले सीपमूलक तालीम दिँदैछ । माइती नेपालको कार्यालयमा भेटिएको ती युवतीले श्रीमान्ले दिनरात रक्सी खाएर झगडा गर्ने गरेपछि माइत बसेकी उनी सुख दिन्छु भनेकाले हिँडेको बताइन् । उनले भनिन् “दुई वर्ष भारतमा काम गर्ने अनि नेपाल फर्किन योजना थियो ।”

उनीसँगै सोही दिन नै ११ कक्षामा अध्ययनरत सुर्खेतकी १६ वर्षीया र १० कक्षामा अध्ययनरत रुकुमकी १५ वर्षीया युवतीलाई समेत पशुपतिनगरको होटलबाट उद्धार गरेर परिवारको जिम्मा लगाएको छ । मानव ओसारपसारमा संलग्न कालीकोट सन्नीत्रिवेणी गाउँपालिका–९ घर भएका ३० वर्षीय लोकेन्द्र तिरुवा, २४ वर्षीय लङ्क तिरुवा र २९ वर्षीय जनक तिरुवा रहेको प्रहरीले जनाएको छ । गाउँघरमा लुगाकपडा बेच्ने उनीहरुले प्रलोभनमा पारेर पशुपतिनगर सीमानाका कटाउने उद्देश्य राखेका थिए र एक जना सीमा कटाइसकेका थिए ।

प्रहरी र माइती नेपालले समयमा नै थाहा पाएपछि उनीहरु सफल हुन नसकेपछि अहिले मानव बेचबिखन मुद्दामा प्रहरी नियन्त्रणमा छन् । फरकफरक स्थानमा युवतीलाई फकाएपछि उनीहरुले पशुपतिनगरमा भेला गराएका थिए । सुर्खेत र रुकुमकी युवतीलाई दमकमा राखेर पशुपतिनगर ल्याइएको थियो भने बच्चासहितकी युवतीलाई बुटवलबाट सिधै पशुपतिनगर ल्याएर दार्जिलिङको एक होटलमा पु¥याएपछि तत्काल प्रहरीले उद्धार गरेको इलामका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख हेमराज ओलीलले बताए।

“दुई जनालाई पशुपतिनगरमा राखिएको थियो भने एकलाई सीमानाका कटाएर दार्जिलिङ पु¥याइएको रहेछ” माइती नेपालका होम ढकालले भने, “पशुपतिनगरमा राखिएको दुईको व्यवहार शङ्कास्पद लागेपछि होटल व्यवसायीले खबर गरेर पछि बुझ्दा भारततर्फ लग्ने तयारी भएको बुझियो ।”

जाजरकोटकी युवती बच्चासहितकी भएकाले परिवारका पुनःस्थापना गर्नसमेत कठिन भएकाले व्यावहारिक सीपमूलक तालीम प्रदान गरिँदै आएको ढकालले बताए । त्यसअघि पनि गत भदौ ३१ गते भारत कटाउन लागिएकी फिदिम नगरपालिका–५ की १९ वर्षीया युवतीलाई नेपाल प्रहरी, भारतीय सुरक्षाकर्मी र माइती नेपालको टोलीले इलामको पशुपतिनगर नाकाबाट घर फर्काएको थियो ।

प्रहरीले मानव बेचबिखनमा संलग्न भारत दार्जिलिङ राङवाङका दलवीर मुखिया र विवेक राईलाई पक्राउ गरेको थियो । उनीहरु दुवैविरुद्ध अहिले मानव बेचबिखन तथा ओसारपसारअन्तर्गत मुद्दा दायर भएको छ । प्रहरीका अनुसार अनेक बहाना बनाएर विवाह गर्छु, जिन्दगीभर सुख दिन्छु भनी फकाउँदै पीडित युवतीलाई जबर्जस्ती राँकेसम्म ल्याएको पीडित प्रहरीले बयान दिएकी थिइन् ।

गाडी रोक्न आग्रह गर्दा परिवारले थाहा पाएर केटी मान्छेको इज्जत जान्छ बिहे गर्छु भन्दै फकाएर पशुपतिनगरसम्म ल्याएको पीडित युवतीले बताइन् । नाका नजीकै प्रहरी देखेपछि युवती जान नमानेपछि भारतीय युवाले युवतीलाई लान खोजेपछि प्रहरी र माइती नेपालका प्रतिनिधिले सोधपुछ गर्दा फकाएर भारत लान लागेको प्रहरी निरीक्षक हेमराज ओलीले बताए।

एक हप्ताको बीचमा भएका यी दुई प्रतिनिधि घटना मात्रै हुन् । खुला सिमाना, सीमा क्षेत्रमा नेपाली प्रशासनको पातलो उपस्थितिले गर्दा पशुपतिनगर नाका दलाललाई सीमा कटाउने सजिलो नाका भएको छ ।

भारत कटाएकी जाजरकोटकी १५ वर्षीया युवतीलाई बिहान ९ बजेको समयमा प्रहरी र माइती नेपालका कर्मचारीको छलेर दार्जिलिङ पु¥याइएको थियो । पारिवारिक कलह, घरेलु हिंसामा परेका महिला धेरैजसो दलालको फन्दामा परेर सीमा कटाउने गरेको पाइएको सामुदायिक सेवा केन्द्र पशुपतिनगरका अध्यक्ष कमल गदालले बताए ।

उच्चशिक्षा पढेका पनि दलालको पञ्जामा पर्ने गरेका छन् । उनलाई आवधिक गृहमा दुई दिनसम्म परामर्श दिएर परिवारको जिम्मा लगाइएको थियो । पशुपतिनगर मानव तस्करीको बाटो बन्दै गएकोप्रति चिन्ता बढिरहेको अवस्थामा पछिल्लोपटक नाकाबाटै युवतीको उद्धार गरिएको छ ।

दलालको फन्दामा पर्ने अधिकांश महिला रोजगारी मिलाउने भन्दै प्रलोभनमा पार्दै आएको प्रहरी अनुसन्धानको निष्कर्ष रहेको छ । चेलीबेटी बेचबिखनका घटनाको अनुसन्धान गरिरहेका पशुपतिनगर इलाका प्रहरी कार्यालयका प्रमुख हेमराज ओली भन्छन्, “दलालले महिलालाई तत्काल सोच्नै नसक्ने गरी प्रलोभनमा पार्ने र फसाएर सीमा कटाउने गरेका छन् ।” दलालले अशिक्षित महिलामात्रै हैन शिक्षित महिलालाई पनि चिनजान भएको एक दुई दिनमै फसाएको उहाँ बताउँछन् ।

नेपाल भारत सीमा क्षेत्रको इलामका पशुपतिनगर, गोर्खेको मानेभञ्ज्याङ, जौबारी र कालपोखरीमा नेपाल प्रहरीको युनिट भए पनि जोगमाई, समाल्बुङ, श्रीअन्तु, जिर्मले, छिरुवा, छब्बिसेलगायत दर्जनौँ चारेबाटो महिला भारत कटाउने सजिला नाकाको रुपमा रहेको माइती नेपाल आवधिक गृहपशुपतिनगरका प्रमुख होम ढकालले बताए।

माइती नेपालको तथ्याङ्कअनुसार सन् २०१८ को सेप्टेम्बर महीनासम्ममा पशुपतिनगर नाकाबाट भारत जान लागेका ७३ महिलालाई नियन्त्रणमा लिएर परिवारको जिम्मा लगाइएको छ । यस्तै प्रहरी र माइती नेपालको टोलीले सो अवधिमा सात जना भारतका विभिन्न स्थान र एक जना झापाको दमकबाट उद्धार गरिएको थियो । माइती नेपालमा हराएका ३३ वटा निवेदन दर्ता भएकामा आठ फेला पारी परिवारलाई जिम्मा लगाइएको छ ।

पछिल्लो समय तस्करले महिलालाई फसाउन निःशुल्क प्रवेशाज्ञासहित आश्वासन, सुखको प्रलोभनमा नेपालको सीमा कटाउँदै आएका छन् । माइती नेपालको तथ्याङ्कअनुसार पशुपतिनगर आसपासका नाकाबाट ५३ जिल्लाका महिला सीमा कटाइएको पाइएको छ ।

दलालले मुख्य नाकाभन्दा पनि चोरबाटो प्रयोग गर्न थालेकाले इलामका सङ्घसंस्थाले सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको पोष्ट स्थापनाको माग गर्दै आएका छन् । विभिन्न बहानामा भारत लगिनेमा १४ देखि २७ वर्षका युवती बढी रहेको माइती नेपालले जनाएको छ ।