विचित्र संसार

डुलन्ते विवाह गर्ने जातिः जहाँ महिलाको साम्राज्य चल्छ

काठमाडौँ । चीनको दक्षिण पश्चिम क्षेत्रमा बसोबास गर्ने एक आदिवासी समुदायका मानिसहरु जीवनमा हाम्रोजस्तो घरजम गर्ने बिहे गर्दैनन् । उनीहरुको बिहेलाई डुलुवा बिहे भनिन्छ ।

मूसो नामक उक्त आदिवासी समुदायमा प्रचलित विवाहलाई वाकिंग म्यारिज वा डुलुवा बिहे भनिन्छ ।

वाकिंग म्यारिज एउटा यस्तो विवाह हो जसमा महिला र पुरुष जो कोही पनि सम्बन्ध गाँस्न र छुट्टिन स्वतन्त्र छन् । यो विवाहमा मुख्य भूमिका महिलाको हुन्छ । समाज नारी प्रधान हुन्छ । आफ्नो लागि पुरुष छनोट गर्ने तथा महत्वपूर्ण फैसला गर्ने अधिकार महिलासँग रहन्छ । यतिमात्र होइन महिलाहरुलाई एकभन्दा धेरै पुरुष साथी बनाउने स्वतन्त्रता पनि हुनछ । १३ वर्षकी किशोरीलाई कुनै पनि पुरुषसँग प्रेम गर्ने अधिकार हुन्छ ।

मुसो जातिका पुरुषहरु दिनभर महिलासँग बस्दैनन् । पूरै दिन माछा मार्ने, शिकार गर्ने तथा अन्य काममा व्यस्त हुन्छन् । रातमा मात्र महिलासँग सुत्नका लागि मात्र पुग्दछन् ।

छोरीचेलीहरु बालिग भएसँगै छुट्टै कोठा दिइन्छ । जहाँ उनी आफूलाई मनपर्ने केटासँग रात बिताउन पाउँछन् । यो सम्बन्धमा पुरुषहरु महिलाका कुनै पनि खाले आर्थिक सहायता गर्दैनन् । बच्चा जन्मिँदा पनि त्यसको पूरै जिम्मेवारी आमा र उनका परिवारमा रहन्छ ।

कतिपय अवस्थामा त आमाहरुलाई आफ्नो बच्चाको बाउ को हो ? भन्ने पनि थाहा हुँदैन । किनकि उनीहरु आफूलाई मनलाग्दी पुरुषहरुसँग सम्बन्ध राख्न पाउँछन् । तर यसालई समाजले असहज मान्दैन र सहजै स्वीकार्छ ।

चीनको सिचुआन र युनान प्रान्तको सीमा क्षेत्रमा पर्ने लुगु ताल किनारामा बसोबास रहेको यो आदिवासी समुदायको जनसंख्या ४० हजारको हाराहारीमा रहेको छ ।