लुम्बिनी

दाङमा अर्को सिमेन्ट उद्योग

लमही । दाङमा अर्को सिमेन्ट उद्योगले उत्पादन शुरु गरेको छ । यसअघि दाङको घोराहीबाट सगरमाथा सिमेन्ट र दूधरासबाट सोनापुर सिमेन्ट उत्पादन हुँदै आएको थियो भने अहिले लमहीबाट गजराज सिमेन्ट उत्पादन शुरु भएको छ ।

लमही नगरपालका थालेको उद्योगका प्रबन्ध निर्देशक वासु पाण्डेले जानकारी दिए। उत्पादन आसपासका नागरिकको स्वास्थ्यलाई कुनै असर नपर्ने गरी उद्योग सञ्चालनमा ल्याएको उनले बताए।

दैनिक एक हजार ८०० टन सिमेन्ट उत्पादन क्षमता भएको उद्योग स्थापना गर्न रु एक अर्ब ६० करोडको लगानी रहेको पाण्डेले बताए । उद्योगले दाङको काभ्रे, लोहरपानी, स्यूजा, रोल्पाको डुब्रिङ र प्यूठानको रम्दीबाट चुनढुङ्गा ल्याउने गरेको छ । यस्तै उद्योगले क्लिङ्गर तत्कालका लागि सोनापुर सिमेन्ट उद्योग र भारतबाट ल्याउने गरेको पाण्डेले जानकारी दिए ।

सिमेन्ट उद्योगले गजराज र सम्राट ब्राण्डका पिपिसी र ओपिसी सिमेन्ट उत्पादन गर्ने उद्योग प्रशासनले जनाएको छ । जर्मन प्रविधिको मेसिनले सिमेन्ट उत्पादन थालेको उनको भनाइ छ ।