प्रदेश 1

घरेलु मदिरा नष्ट

भद्रपुर । मेचीनगर–१० स्थित धुलाबारीमा आज बिहान प्रहरीले ७० लिटर घरेलु मदिरा बरामद गरेको छ । जाँचका क्रममा प्रहरीले गाडीमा लादेर बिक्रीका लागि विर्तामोड तर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय धुलाबारीले सो मदिरा बरामद गरेको हो ।

बरामद मदिरा आज बिहानै स्थानीय जनप्रतिनिधि र सङ्घसंस्थाका प्रतिनिधिलगायतको उपस्थितिमा नष्ट गरिएको छ । घरेलु मदिरा उत्पादन गरेर बिक्री वितरण गर्न सरकारले रोक लगाए पनि अवैधरुपमा यसको बिक्री वितरण भइरहेकाले प्रहरीले कडा निगरानी गरिरहेको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक खगेन्द्र रिजालले बताए । एक साता अघि मात्र भद्रपुर, गौरीगञ्जलगायतका स्थानमा पनि घरेलु मदिरा बरामद गरी प्रहरीले नष्ट गरेका थियो ।