समाचार

काठमाडौँ महानगरपालिका: एकै स्थानमा कार्यालय नहुँदा मर्का

काठमाडौँ । कलङ्कीबाट घर निर्माण सम्पन्न प्रमाणपत्र लिन आएका हरि उप्रेती भूकम्पअघि काठमाडौँ महानगरपालिकाको काम हुने स्थान राष्ट्रिय सभागृहमा गए । त्यहाँ उनलाई ‘सुनधाराको हरिभवनमा जानुस्’ भनियो । उनी हरिभवन जाँदा पनि उनको काम हुने सुरसार नभएपछि उनले ‘नक्शाको काम कहाँ हुन्छ’ भनी सोद्धा बबरमहल भनियो । उप्रेती त्यसतर्फ त्यता लागे । त्यस्तै अर्का नगरवासी कुमार कार्की बालाजुबाट नक्शा पास गर्नका लागि आएका तर उनलाई पनि महानगरको सो विभाग अन्त सरेको विषयमा जानकारी थिएन । कार्कीले भने, “स्थानको अभाव भएपछि अन्यत्र सरे पनि कुनै सूचनामार्फत नागरिकलाई जानकारी दिनुपर्छ, अन्यथा नागरिले दुःख पाउनेछन् ।”

कार्की र उप्रेती त प्रतिनिधि पात्र मात्रै हुन् । हरेक दिन कामपामा फरक फरक सेवा लिनका लागि सयौँको सङ्ख्यामा नागरिक आउँछन् । पहिले सेवा लिँँदै आएको स्थान अन्यत्र सरेका विषयमा जानकारी नहुँदा नागरिकहरु समस्या भोग्न बाध्य भएका छन् । कामपामा अहिले १३ विभाग छन् । तिनका सेवा कार्यालय भने पाँच स्थानमा छन् । भूकम्पअघि हरिभवनबाट आफ्नो सबै सेवा प्रदान गर्दै आएको कामपाले भूकम्पका कारण विभिन्न स्थानमा छरिएर सेवा दिँदै आएको छ । कामपाको कार्यालय विभिन्न स्थानमा छरिएर रहँदा सेवाग्राहीलाई सास्ती भएको छ । भूकम्प गएलगत्तै राष्ट्रिय सभागृहबाट सेवा दिँदै आएको कामपाका केही विभाग सुनधारामा नै रहेको जेडिए कम्प्लेक्समा छन् । त्यस्तै वातावरण विभाग टेकुमा, सार्वजनिक निजी साझेदारी र सूचना प्रविधि महाशाखा जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा सरेका छन् ।

त्यस्तै नक्शा र भौतिक पूर्वाधार महाशाखाले तत्कालीन कर कार्यालय रहेको भवन बबरमहलबाट नै सेवा दिँदै आएका छन् ।
त्यस्तै महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी सुनधारामा रहेको जेडिए कम्प्लेक्सबाट नै आफ्नो काम गरिरहेका छन् । ती विभाग सरेको बारे नागरिकलाई जानकारी नहुँदा नागरिकले समस्या भोग्नाका साथै तिनको समयको बर्बादी भइरहेको छ ।
महानगरका उपप्रमुख खड्गीका अनुसार यी सबै समस्या भूकम्पको कारण भएको हो । त्यसअघि सबै सेवा एकै स्थानबाट दिई नै आए पनि नागरिकलाई परेको समस्याको समाधान खोज्न महानगर लागिरहेको बताउँछन् । भूकम्पअघि सेवा दिँदै आएको हरिभवनमा पनि भूकम्पका कारण पूर्ण रुपमा क्षति पुगेको छ । त्यसलाई भत्काएर पुनःनिर्माण गरी सोही स्थानबाट नै नागरिकलाई सेवा दिने तयारी कामपाको रहेको र भत्काउनका लागि बोलपत्र आह्वानसमेत गरिसक्दा सर्वोच्च अदालतले गत बुधबार अन्तरिम आदेश जारी गरी तत्कालका लागि भत्काउने प्रक्रिया अघि नबढाउन र अहिलेकै अवस्थामा संरक्षण गर्न आदेश दिएको छ । कामपाका सूचना अधिकारी वसन्त आचार्यका अनुसार नागरिकलाई सास्ती दिने कामपाको उद्देश्य नभई कार्यालयका लागि भाडाको भवन खोज्ने क्रममा जहाँ जहाँ प्राप्त हुन्छ त्यहीँ लिइएको बताउँछन् । “महानगरमा धेरै विभाग छन्, त्यसमा प्रमुख र उपप्रमुखको लागि पनि त छुट्टै स्थान चाहियो, विकल्प नभएर नै नागरिकले समस्या भोग्नुपरेको हो”, आचार्यले भने ।
टेकुमा रहेको वातावरण विभागले भूकम्पअघिदेखि नै नागरिकलाई उक्त स्थानबाट सेवा दिँदै आएको भए पनि अन्य विभाग भने भूकम्पपछि र केही त एक महीनाअघि मात्र सुनधाराबाट अन्यत्र सरेका हुन् ।