पु.समाचार

नेपाल प्रहरीमाथि प्रहरीकै ‘अपरेसन’, तीन वृत्तका डिएसपी फेरिए

काठमाडौँ । नेपाल प्रहरीहरु गैरव्यवसायिक क्रियाकलापमा लिप्त हुने गरेको गुनासो आउन थालेपछि महानगरीय प्रहरी परिसर काठमाडौंले प्रहरीमाथि नै निगरानी बढाएको छ। सेवाग्राहीसँग घुस लिनेदेखि अन्य अवैध क्रियाकलाप गरेका प्रहरीहरु माथि अपरेसन गर्ने विशेष टोली गठन भएको छ।

सोमबार टोलीले महानगरीय प्रहरी  वृत्तका एक सईलाई घुस लिएको अभियोगमा अनुसन्धान शुरु गरेको छ। सईले सेवाग्राहीसँग १० हजार रुपैया घुस लिएको जानकारी प्रहरीमा आएको हो। परिसरका एसएसपी वसन्त लामाले भने,’ हामीले प्रहरीको आचरण हेर्नको लागि टोली गठन गरेका हौं। कसैले गलत क्रियाकलाप गरिरहेको छ भने तत्काल एक्सन लिन्छ।’

यसैबीच महानगरीय प्रहरी वृत्त अन्तर्गतका तीन जना प्रमुख (डिएसपी) फेरिएका छन्। महानगरीय प्रहरी वृत बौद्ध, थानकोट र सातदोबाटोका डिएसपी फेरिएका हुन्। बौद्धमा डिएसपी नरेन्द्र चन्दलाई पठाइएको छ।

शनिबार साँझ महानगरीय प्रहरी वृत्त बौद्धको जिम्मेवारी सम्हालेका प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामकुमार राईलाई अख्तियारको टोलीले घुस रकमसहित पक्राउ गरेको थियो।

डिएसपी चन्द यसअघि महानगरीय प्रहरी परिसर ललितपुरमा थिए।

त्यस्तै महानगरीय प्रहरी वृत्त थानकोटमा डिएसपी कुमारविक्रम थापालाई पठाइएको छ। थानकोट वृत्तका डिएसपी नवरत्न पौडेल युएन मिसनमा जाने भएकाले थापालाई जिम्मेवारी दिइएको हो।

महागरीय प्रहरी वृत्त सातदोबाटोमा गौतम मिश्रलाई पठाइएको छ। वृत्तका प्रमुख  राजकुमार सिलवाललाई परिसर ललितपुर ल्याइएको छ। केही समयदेखि उपत्यका भित्र रहेका प्रहरीवृत प्रमुखको कामबारबाहीमा असन्तुष्टि भएपछि हेरफेर गरिएको हो।