कृषि

परियोजनामा कृषकको आबद्धतामा वृद्धि

नेपालगञ्ज । बाँकेमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । तीन वर्षदेखि सञ्चालित सो परियोजनाको शुरुआती चरणमा जिल्लाका १० समूह र सहकारीमा आबद्ध कृषकले ३५० हेक्टर क्षेत्रफलमा मकैखेती गर्दै आएकामा अहिले ३५ कृषक समूहले ६२१ हेक्टरमा मकैखेती गरिएको छ ।

बाँकेका परियोजना प्रमुख देवेशकुमार मिश्रका अनुसार, दुई वर्षको अवधिमा परियोजनाको कार्यक्रममा कृषक सहकारी, कृषक उद्यमी, जल उपभोक्ता र कृषक समूहका एक हजार ३४३ कृषक आबद्ध भइसकेका छन् । परियोजनाअन्तर्गत कृषकलाई आधुनिक उपकरणलगायत प्राविधिक सहयोग गरिन्छ । “पहिले गरिँदै आएको मकैखेती र अहिलेकोमा धेरै भिन्नता छ, अहिले थोरै लगानीमा धेरै फाइदा लिन सकिएको छ”, डुडुवा गाउँपलिकाका रामप्रसाद यादवले भने ।

नेपालगञ्ज उपमहानगरपालिकाको पाँच वडा तथा डुडुवा गाउँपालिकाको बेतहनी, वनकट्टी र हिरमिनिया गाउँलाई परियोजनाभित्र समेटिएको छ । परियोजना कार्यक्रमअन्तर्गत कृषकले हिउँदे र वसन्ते मकैखेती गर्दै आएकामा आगामी आर्थिक वर्षदेखि बर्खे मकैखेतीका लागि पनि ४० कृषक समूह छनोट गरिएको छ । “बाली, जलवायु र माटोको अनुकूलता तथा कृषकको मागका आधारमा परियोजनाले जिल्लालाई मकै जोनका लागि छनोट गरेको हो”, परियोजना प्रमुख मिश्रले भने ।

जिल्लामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन कार्यक्रमअन्तर्गत कृषकलाई कीटनाशक औषधि, बीउबिजन र विभिन्न कृषि उपकरण ५० देखि ८५ प्रतिशतसम्म अनुदान सहयोगमा उपलब्ध गराउँदै आएको छ भने मकै खेतीसम्बन्धी प्राविधिक ज्ञानको तालीम पनि प्रदान गर्दै आएको छ । अनुदान सहयोगअन्तर्गत पछिल्लो पटक नेपालगञ्ज उपमहाननगरपालिका–१५ को विजय नर्सरी फर्म, वडा नम्बर २२ पुरैनीमा रहेको मौसमी कृषक समूह र डुडुवा गाउँपालिका–६ बल्दीपुरवाको कृषि सहकारी संस्थालाई करीब रु ७५ लाख बराबरको तीन थान ट्याक्टर, ट्रली, थ्रेसर, रोराबेटरलगायत उपकरण ५० देखि ८५ प्रतिशत अनुदानमा उपलब्ध गराइएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मुलुकका सबै जिल्लामा सञ्चालनमा रहेको छ । जिल्लाको भूगोल, जलवायु, माटोको अवस्था, कृषकका मागलगायत प्राविधिक पक्षको आकलन गरी कुन जिल्लामा कुन बाली परियोजनाअन्तर्गत सिफारिश गर्ने भनेर तय हुने गरेको परियोजना प्रमुख मिश्र बताउँछन् ।