राजनीति

कांग्रेस महंगी विरुद्ध देशव्यापी रुपमा उत्रिदैँ, रुख काट्नेदेखि राजधानीको निर्णयमा देखियो गम्भीर

काठमाडौंँ । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक विभिन्न निर्णय गर्दै सोमबार सम्पन्न भएको छ । बैठकमा दशैं, दिपावली, नेपाल सम्वत्, छठ लगायत पर्वको सु–अवसरमा देशबासीलाई शुभकामनाका साथैँ अन्य विभिन्न निर्णहरु गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्पन्न भएको हो ।

चाडपर्वहरुका बेलामा आम नागरिकको मुख्य चासो शान्ति सुरक्षा र सुपथ मूल्यमा उपभोग्य वस्तु प्राप्तिको अपेक्षामा वर्तमान सरकार असफल भएको प्रमाणित भईसकेको जनाएको छ । बैठकपछि एक विज्ञप्ती जारी गर्दै पार्टीले, कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याका दोषीलाई अढाई महिना पुगी सक्दा पनि कार्वाहीको दायरामा नल्याउनु दुःखद भएको र यसले वर्तमान सरकारको गम्भीरताका प्रति असंवेदनशील र असक्षम रहेको प्रमाणित भईसकेको जानकारी दिएको छ ।

शान्ति सुरक्षा कायम गर्न नसक्ने सरकारको अर्कमण्यताले अपराधको साम्राज्य विस्तार हुँदै गएको र उक्त कार्यको नेपाली कांग्रेसले भत्र्सना गरेको जनाएको छ र सरकारलाई आफ्नो जिम्मेवारीप्रति गम्भीर बन्न समेत सचेत गराएको छ ।

“चाडपर्वको मुखमा उपभोग्य वस्तुहरुको मूल्यमा अचाक्ली वृद्धि हुँदा सर्वहाराका नाममा सत्तामा पुगेको नेतृत्वले त्यसमा हस्तक्षेप गर्नु त परै जाओस्, सरकारकै रवैयाका कारण चिनी लगायतका वस्तु तथा दशैको बेलामा गाडी भाडामा मूल्यवृद्धि हुन पुगेको छ ।, सोमबार बैठक सकिएपछि जारी विज्ञप्तीमा भनिएकोछ, उसैपनि चर्को करहरुका कारण पीडा झेलिरहेका नागरिकलाई झन पिडा थपिएको स्थितिप्रति गम्भीर हुँदै नेपाली कांग्रेसले त्यसका विरुद्ध सबै जिल्ला प्रशासन मार्फत तत्कालै ज्ञापन पत्र बुझाउने र केन्द्रमा पनि सरकारलाई सचेत गराउने निर्णय लिएको छ ।”

उसले वाइड वडी जहाज खरीद प्रकरणमा अपारदर्शीता र ठूलो आर्थिक अनियमितताको वास्तविक छानविन गरी सार्वजनिक गर्न माग गरेको छ । बुढी गण्डकी जलविद्युत परियोजना स्वदेशी लगानीमै निर्माण गर्न सकिने ठहर कांग्रेसको नेतृत्वको सरकारका पालामा गठित अध्ययन समितिले गरेको बताउँदैँ त्यसका लागि नेपाली जनताको लगानी सहभागिताको प्रकृया समेत आरम्भ भई अरबौं रुपैयाँ संकलन भइसकेका बेला हठात् गेजुवा कम्पनीलाई सुम्पने निर्णय आउनुलाई नेपाली कांग्रेसले अपारदर्शी, आश्चर्यजनक र आपत्तिजनक निर्णयको संज्ञा दिएको छ ।

यस्तै कांग्रेसले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न विमान स्थलका लागि आवश्यक पर्ने जग्गा भन्दा बढी जग्गाका रुख काट्ने प्रस्तावप्रति नेपाली कांग्रेसको गम्भीर विमति रहेको जनाएको छ ।

सुदूर पश्चिम प्रदेश सभाले भौतिक पूर्वाधार नै नभएको वातावरणीय दृष्टिकोणले नमिल्दो स्थान कैलाली जिल्लाको गोदावरी नगरपालिकाको वडा नं. २ र ४ मा राख्ने गरी गरिएको निर्णय अपरिपक्व, विकास विरोधी, गैर जिम्मेवार र भू तथा वन माफियाहरुको चलखेलबाट प्रभावित भएको कांग्रेसले जनाएको छ ।