अन्तर्राष्ट्रिय

इन्टर्पोलका प्रमुख मेङले दिए राजिनामा, अपराधिक क्रियाकलापमा संलग्नताबारे छानविन हुदैँ

काठमाडौँ । चीन सरकारले नियन्त्रणमा लिएर छानविन सुरु गरेपछि अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टर्पोलका प्रमुख मेङ होङ्वेईले तत्काल लागू हुने गरी राजिनामा दिएका छन्।

चीनको अनुशासन निरीक्षण केन्द्रीय आयोगले आइतबार राती चीनका जनसुरक्षा उपमन्त्री समेत रहेका मेङमाथि उनको अपराधिक क्रियाकलापमा संलग्नताबारे छानविन भइरहेको जनाएको थियो। चीनको यो वक्तव्य आएलगत्तै इन्टर्पोलका प्रमुख मेङ होङ्वेईले तत्काल लागू हुने गरी फ्रान्सस्थित मुख्यालयमा राजिनामा पठाएको र अर्को मिहना बस्ने साधारण सभाले नयाँ अध्यक्ष चयन गर्ने इन्टर्पोलले जनाएको छ।

भ्रष्टाचार सम्बन्धी छानविन गर्ने चीनको सर्वोच्च निकाय अनुशासन निरीक्षण केन्द्रीय आयोगले आइतबार राती संक्षिप्त वक्तव्यमा भनेको थियो, ‘चीनको जन सुरक्षा मामिला उपमन्त्री मेङ होङ्वेईमाथि उनको आपराधिक क्रियाकलापमा संलग्नताबारे अनुसन्धान भइरहेको छ।’

फ्रान्सबाट २५ सेप्टेम्बरमा चीन गएका मेङ परिवारको सम्पर्कमा नरहेपछि गत शुक्रबार फ्रान्सस्थित इन्टर्पोलको मुख्यालयमा जानकारी दिइएको थियो। इन्टर्पोलले आफ्ना अध्यक्ष मेङ होङ्वेईको अवस्थाबारे स्पष्ट पार्न चीनलाई आग्रह गर्दै आएको थियो।

मेङ होङ्वेई वेपत्ता भएको १२ दिनपछि पहिलो पटक औपचारिक प्रतिक्रिया दिँदै चीनको अनुशासन निरीक्षण केन्द्रीय आयोगले आइतबार राती छानविन भइरहेको जनाएको हो। ६४ वर्षीय मेङ चीनबाट अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टर्पोलको अध्यक्ष चुनिने पहिलो अधिकारी थिए।

चीनमा पछिल्ला वर्षहरूमा पार्टीको स्थायी र पोलिटब्यूरो समिति सदस्य, व्यवसायी र सेलिब्रिटिहरूमाथि समेत भ्रष्टाचार अनुशासनको कारबाही भइरहेको छ। दर्जनौं सरकारी अधिकारी छानविनमा रहेको बेला अन्तर्राष्ट्रिय जिम्मेवारीमा समेत रहेका अधिकारीलाई नियन्त्रणमा लिएर छानविन थालिएको संभवतः यो पहिलो पटक हो।

२०१६ मा इन्टर्पोलको अध्यक्षमा निर्वाचित भएका मेङ चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारी पनि रहेको बताइएको छ।