समाचार

बलात्कारीकारी र हत्यारालाई कारबाही नगरेको भनदै आयोगले काट्यो सरकारलाई पत्र

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने वास्तविक दोषी पत्ता लगाई कानूनबमोजिम कारवाही गरी पीडितलाई न्याय दिन सरकारलाई आठ बुंदे निर्देशनपत्र पठाएको छ ।

आयोगका प्रवक्ता मोहना अन्सारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा गत साउन १० गते कञ्चनपुर जिल्लाको उल्टाखाममा १३ वर्षीया बालिकाको बलात्कारपश्चात् हत्यामा संलग्न वास्तविक दोषी पत्ता लगाई कारवाही गर्न र पीडितलाई न्याय दिन आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आठ बुँदे निर्देशनपत्र पठाएको उल्लेख छ ।

घटनाका सम्बन्धमा आयोगको प्रदेश कार्यालय धनगढी र केन्द्रीय कार्यालयको टोलीसमेतले अनुगमन÷अनुसन्धान गरिरहेको र अनुगमनबाट प्राप्त प्रारम्भिक प्रतिवेदन उपर आयोगमा छलफल हुँदा उक्त घटनाको सम्बन्धमा वैज्ञानिक तथा प्रभावकारी अनुसन्धान गरी दोषी पत्ता लगाई कानूनबमोजिम यथाशीघ्र कारवाही गर्न आयोगले सरकारलाई सो पत्राचार गरेको जनाएको छ ।

पत्रमा बलात्कार एवं हत्याको घटना घटिसकेपछि अनुसन्धानलाई उच्च प्राथमिकता दिइ कार्य गर्नुपर्ने, नेपाल प्रहरीले गरेको अनुसन्धानमा सूक्ष्मतम वैज्ञानिक परीक्षण र विश्वसनीयता नहुँदा आम मानिस तथा पीडित परिवारमा बढेको निराशा र विश्वसनीयता लगायतका विषय पत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी नेपालको संविधानले व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने हक र अपराध पीडितलाई क्षतिपूर्तिको न्याय पाउने हकको व्यवस्था गरेअनुरुप वास्तविक दोषी पत्ता लगाई कानूनबमोजिम कारवाही गर्न तथा पीडित परिवारको न्याय पाउने हक शीघ्र सुनिश्चित गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।