समाचार

लगानी गर्न जर्मनीको व्यापारिक समूहसँग आग्रह

काठमाडौँ । नेपालमा लगानीको वातावरण अनुकूल रहेकाले लगानी गर्न जर्मनीका व्यापारिक समूहसँग आग्रह गरिएको छ । नेपाल भ्रमणमा आएको जर्मनीको कोलोन शहरको व्यापारिक प्रतिनिधिमण्डलको समूह ‘बिजिनेश क्लब ९९’ लाई स्वागत गर्न नेपाल–जर्मन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिज (एनजिसिसिआई) र नेपाल पर्यटन बोर्डद्वारा आयोजित कार्यक्रममा सो आग्रह गरिएको हो ।

सो अवसरमा एनजिसिसिआईका पूर्व अध्यक्ष एवं सांसद दिव्यमणि राजभण्डारीले जर्मनीको व्यापारिक समूहको नेपाल भ्रमणले पूर्वाधार र उद्योगका क्षेत्रमा लगानीको नयाँ सम्भावनाको उजागर गरेको बताए । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष भवन भट्टले जर्मनीमा झण्डै आठ हजार गैरआवासीय नेपाली रहेको र उनीहलाई नेपाली लगानी गर्न आव्हान गरिएको बताए । काठमाडौँस्थित जर्मन दूतावासका विकास सहयोग प्रमुख डा क्लाउडिया हाइपेईले जर्मन सरकारले नेपालमा दशकौँदेखि सूचना प्रविधि, नवीकरणीय ऊर्जा, जलविद्युत्, शिक्षालगायतका क्षेत्रमा सहयोग गर्दै आएको र सहयोगका क्षेत्रलाई आगामी दिनमा अझ बढाउँदै लगिनेछ भने ।

‘बिजिनेश क्लब ९९’ का अध्यक्ष एर्निष्ट भ्लीरले जर्मनीको कोलोन शहरमा हरेक वर्ष मे महिनाको ४ तारिखमा आयोजना गरिने ‘नेपाल दिवस’मा नेपालको सामाजिक–आर्थिक विकासमा गहन छलफल हुने र त्यसकै आधारमा व्यापारिक समूह नेपाल भ्रमणमा आएको जानकारी दिए । तीनदिने नेपाल भ्रमणमा आएको सो प्रतिनिधिमण्डलमा ३० जना व्यापारी संलग्न छन् । जर्मनीका महावाणिज्यदूत रामप्रताप थापाले जर्मनीको व्यापारिक प्रतिनिधिमण्डलको नेपाल भ्रमणबाट आगामी दिनमा थप लगानीको सम्भावना बढाएको उल्लेख गरे ।

कार्यक्रममा एनजिसिसिआईका कार्यवाहक अध्यक्ष अनुपबहादुर मल्लले विगतमा नेपालबाट कार्पेट, तयारी पोशाक, जडीबुटी, चिया, कफीलगायतका वस्तुहरुको निर्यात हुने गरेपनि केही वर्षदेखि भारतबाट यस्ता नक्कली सामग्री पैठारी हुँदा नेपाली निर्यात व्यापारमा नकारात्मक असर परेकाले यसलाई पहिलेकै अवस्थामा लैजानुपर्नेमा जोड दिए ।