समाचार

पत्रकारको मासिक तलब रु ४० हजार पु¥याउने योजनामा सरकार

काभे्रपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार श्रमजीवी पत्रकारका पक्षमा रहेको बताएका छन् । सुनकोशी पाँचखाल खानेपानी योजनाको उपभोक्ता भेलालाई आज काभे्रपलाञ्चोकको पाँचखालमा सम्बोधन गर्दै उनले भने, “सरकार श्रमजीवी पत्रकारका पक्षमा छ, त्यसैले पत्रकारको न्यूनतम पारिश्रमिक बढाउन चाहन्छ ।”

मन्त्री बाँस्कोटाले श्रमजीवी पत्रकारको पारिश्रमिक मासिक रु ४० हजार पु¥याउने योजनामा सरकार रहेको उल्लेख गर्दै “कर्पोरेट मिडिया हाउस त्यसरी जान चाहदैनन्, तर सरकार अब त्यसलाई लागू गर्ने पक्षमा उभिन्छ”, भने ।

“नेपाल पत्रकार महासङ्घले नै पारिश्रमिक बढाउन चाहेको छैन्” उनले भने, “महासङ्घ नै श्रमजीवीको पक्षमा उभिएको देखिएको छैन तर सरकार पारिश्रमिक बढाउने पक्षमै छ ।”

मन्त्री बाँस्कोटाले पत्रकारको सुरक्षा र आर्थिक समृद्धिका निम्ति मेरो अभियान जारी नै रहन्छ भन्दै अधिकारको लडाईं सकिएकाले अब निर्माणको समय आएको बताए ।

“कसैले आएर निर्माण गर्दिदैनन् तपाई हामी मिलेरै गाउँ, नगर र राष्ट्र बनाउने हो”, उनले भने, “कुनै पनि योजनाको जोखिम र फाइदाबारे सोचेर समयमै सक्नुपर्छ, समयमै नसक्दा समय र लागत दुबै बढ्छ ।”

मन्त्री बाँस्कोटाले पर्यावरणीय तथा मानवीय चापलाई मध्यनजर गरी स्थानीय तहले पानीको स्रोतको खोजी गरेर त्यसको सुरक्षा गर्नुपर्नेमा जोड दिदैं पानीको खोजी र सुरक्षा गर्ने दायित्व सरकारको मात्रै नभई सम्बन्धीत सबै पक्षको हो भने ।

रिजनसँग भेट

यसैगरी विद्यालय भर्ना अभियानअन्तर्गत आफूले गत वैशाखदेखि अभिभाकत्व ग्रहण गर्नुभएका पाँचखाल नगरपालिका–१२ का रिजन दनुवारसँग मन्त्री बाँस्कोटाले आज उनकै घरमा भेटघाट गरेका छन् ।

भेटमा उहाँले शैक्षिक एवं स्वास्थ्यको वर्तमान अवस्थाका बारेमा रिजनसँग कुराकानी गरे । मन्त्री बाँस्कोटाको प्रश्नको जवाफमा रिजनले लजाउँदै भने “सधैँ पढ्न स्कुल जान्छु ।” पाँच वर्षका रिजन स्थानीय आजाद माध्यमिक विद्यालयमा कक्षा १ मा पढ्दैछन् ।

गत वैशाखमा भर्ना गरी उनलाई वर्षभरिका लागि आवश्यकपर्ने शैक्षिक सामग्री, पोशाक एवं खाजाको व्यवस्थापन गर्नुभएका मन्त्री बाँस्कोटाले भने, “कक्षा १२ सम्म रिजनको पढाइको जिम्मा मेरो भइसक्यो ।”