सामाजिक सञ्जाल

रमेशचन्द्र घिमिरेको बालकविता: खसी बोकाको वेदना !

हेर्दाहेर्दै आँगनमा पानी तताए
हामी खसी बोकालाई साह्रै सताए

खसी बोका काटेर दसैँ मानेका
यिनले मात्रै रमाइलो गर्न जानेका
मान्छेलाई पो दसैँ हो, हाम्लाई दसा हो
मासु नखाई नहुने कस्तो नसा हो ?

आँसी उज्याई ढुङ्गामा मनै अत्याए
हामी खसी बोकालाई साह्रै सताए

आफ्नो हुँदो मान्छेले जे नि बोलेका
मानव अधिकार भनेर संस्था खोलेका
तर हाम्रो अधिकार बुझ्दै बुझेनन्
आफू हाँसे अर्काको आँसु पुछेनन्

हाम्रो पशु अधिकार यिनले लत्याए
हामी खसी बोकालाई साह्रै सताए

बाँचौँ अनि बचाअौँ खोक्रो नारा हो
मुखले ठीक्क पार्ने यो कस्तो पारा हो ?
उफ्रन देऊ, रमाउन देऊ नाच्न हाँस्न देऊ
अमूल्य छ जिन्दगी अझै बाँच्न देऊ

नियम बनाई आफैले धूलो चटाए
हामी खसी बोकालाई साह्रै सताए ।
–भोर्लेटार, लमजुङ

-लेखक घिमिरेको फेसबुकबाट