स्वास्थ्य

हनुमन्ते सफाइबाट तीन टन फोहर तह लगाईयो

भक्तपुर । भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज ३२ औँ हप्तामा तीन टन फोहर सङ्कलन गरिएको छ ।
प्रतिनिधिसभा सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यमा भएको सफाइ अभियानमा तीन टन फोहर सङ्कलन भएको हनुमन्ते सफाइ अभियानका अभियन्ता पुष्कर गजुरेलले जानकारी दिए ।

उहाँले हनुमन्ते सफाइ अभियान शुरु भएदेखि अहिलेसम्म २१३ टन फोहर सङ्कलन भएको र आज भक्तपुरको सूर्यविनायक र भक्तपुर नगरपालिका जोड्ने घताले क्षेत्रको हनुमन्ते सरसफाइ गरिएको बताए ।

सूर्यविनायक नगरपालिकाको नेतृत्वमा शुरु भएको अभियानको क्रममा आज १३ वटा विभिन्न सङ्घ संस्था र ३७६ जना अभियन्ताको सहभागिता रहेको थियो । अभियानका क्रममा बस्नेतले हनुमन्ते सफाइ अभियान जारी रहँदा हनुमन्तेमा फोहर फाल्ने क्रम जारी रहेकाले त्यसलाई रोक्न नगरपालिकाले कडा नीति ल्याउनुपर्ने बताए ।

कार्यक्रममा सफाइ अभियानका संयोजक एवं सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले आफ्नो नगरक्षेत्र भएर बग्ने हनुमन्ते नदीमा फोहर फाल्नेलाई कडा कारवाही गर्ने नीति नगरपालिकाले अवलम्बन गरेको बताए ।

त्यसैगरी सांसद बस्नेतले आजै सूर्यविनायक र भक्तपुर नगरपालिकाको सिमाना घलातेमा नवनिर्मित बेलिब्रिज पूलको उद्घाटन गरे । हनुमन्ते खोलामा रहेको उक्त पुलनिर्माण गरेपछि भक्तपुरको सल्लाघारी एवं भक्तपुर क्याम्पसलगायत दूधपाटी जान छोटो दूरीमा र सहज रुपमा यात्रा गर्न सकिने भएको छ । कूल रु २९ लाखको लागतमा निर्माण भएको उक्त पुलको उद्घाटन गर्दै बस्नेतले भक्तपुरमा यसवर्ष १८ वटा नयाँ पुल निर्माण हुने बताए ।