पत्रपत्रिका

निर्मलाको नाममा युट्युब च्यानलको व्यापार

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त अहिले केहीका लागि पैसा कमाउने माध्यम बनेकी छिन्। युट्युब च्यानलले निर्मलाको नाममा अन्धाधुन्द रूपमा व्यापार गर्दा निर्मलाको परिवारलाई थप मर्माहत बनाएको छ।

नेपाल समाचारपत्र दैनिक लेख्छ, घटनालाई तोडमोड गरेर युट्युब च्यानलमा राख्ने र व्यापार गरिरहँदा पनि नियामक निकाय भने मौन छ। ‘गृहमन्त्रप्कै अगाडि निर्मलाको हत्यारालाई कारबाही माग गर्दै कार्यक्रममै उत्रिँदा धरपकड’ भन्दै युट्युब च्यानलमा अपलोड भएको भिडियो एक लाखभन्दा बढीले हेरेका छन्।

त्यसैगरी ‘यसरी बलात्का गरेछन् निर्मला पन्तका हत्याराले, बाहिरियो डरलाग्दो गोप्य’ नामको युट्युब लिंक तीन हजारभन्दा बढीले हेरेका छन्। ‘निर्मला पन्तको बलात्कारी पुलिस नै रहेछ’ भन्ने युट्युब भिडियो सात हजार भन्दा बढीले हेरेका छन्। अहिले सयौँ युट्युब च्यानलमा निर्मलाको नाम जोडेर लिंकहरू राखिएका छन्।