राजनीति

नेविसंघ महाधिवेशन गुटबन्दीले धकेलिँदै, उमेरहदको विषय मुख्य विवाद

काठमाडौँ । नेपाली कांग्रेसको आन्तरिक कलहका कारण भ्रातृ संगठन नेविसंघको महाधिवेशन अन्योलमा धकेलिएको छ । पार्टीका संस्थापन र अर्को पक्ष महाधिवेशन तयारी सुरु हुनुअघि नै नेविसंघ नेतृत्व आफूतिर पार्ने कसरतमा छन् ।

यही रस्साकसीले विवाद बढाउँदा शुक्रबार बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकसमेत हुन सकेन । संघको विधान अनुमोदनका लागि बोलाइएको बैठक स्थगित भएपछि २१ गतेलाई पुन:डाकिएको छ ।

कात्तिक १६ देखि १८ सम्म राजधानीमा नेविसंघ महाधिवेशन तोकिएको छ । उक्त मितिमा महाधिवेशन नहुने सम्भावना बढेको छ । दुवै पक्षले एकअर्कालाई महाधिवेशन भाँड्न लागेको आरोप लगाउन थालेका छन् । संस्थापन पक्षले महाधिवेशनको तयारी अघि बढाउन अर्को पक्षले असहयोग गरेको जनाएको छ । अर्को पक्षले संस्थापनले केन्द्रीय कार्यसमिति भंग गरेर आफू अनुकूल तदर्थ समिति बनाउने कसरत गरेको आरोप लगाएको छ ।

सतहमा नेविसंघमा ३२ वर्षको उमेरहद लगाउने–नलगाउने भन्ने मुख्य विवाद छ । दुई वर्षअघि ११औं महाधिवेशनकै बेला ३२ वर्षे उमेर हद लगाउने समझदारी बनेको थियो । यो व्यवस्था लागू भए अहिले नेतृत्वमा दाबी गर्ने आधा दर्जन विद्यार्थी नेताले प्रतिस्पर्धै गर्न पाउँदैनन् । त्यही कारण उमेर हद हटाउन विद्यार्थी नेताले आ–आफ्ना गुटलाई दबाब दिँदै आएका छन् । सबैभन्दा बढी दबाब संस्थापनइतर पक्षका नेतालाई छ ।

यहीबीच नेविसंघ अध्यक्ष नैनसिंह महरले तत्कालीन फोरम लोकतान्त्रिकबाट कांग्रेस प्रवेश गरेका १५ विद्यार्थी नेतालाई केन्द्रीय कार्यसमितिमा ल्याएपछि विवाद चुलिएको छ । महरले विजयकुमार गच्छदारनिकट विद्यार्थी नेता कपिलश्वर यादवलाई महामन्त्री र १४ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले गच्छदार समूहको समायोजन पार्टीमा समेत नभएकाले पार्टी र भ्रातृसंस्थाहरुमा ‘प्याकेज’मै गर्न प्रस्ताव गर्दै आएको छ ।

विवाद समाधान र महाधिवेशन तयारीका लागि सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा पार्टीले निर्देशन समिति गठन गरेको छ । गच्छदारनिकट विद्यार्थीको समायोजन सल्लाहविपरीत भएको र जिल्लामा प्रतिनिधि नखटाईएको कारण जनाउँदै पौडेलनिकट केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले निर्देशन समिति बैठक बहिष्कार गर्दै आएका छन् ।

‘पौडेल र महामन्त्री शशांक कोइरालासमेतको सहमतिमा गच्छदार समूहका विद्यार्थी नेताको समायोजन गरिएको हो,’ महतले भने, ‘अहिले त्यसमा विवाद निकाल्नु महाधिवेशन अघि बढाउन नदिनु हो ।’ उनले पार्टी नेतृत्व र संस्थापन पक्षले महाधिवेशन रोक्न नचाहेको बताए । ‘उहाँहरुले नै महाधिवेशन अघि बढाउन सहयोग नगर्ने स्थिति बनेको छ,’ महतले भने, ‘कुनै विवाद भए पार्टीले गठन गरेको संयन्त्रमा छलफल गरेर अघि बढ्न सकिन्छ । तर, बैठकमा सहभागी नभएर उहाँहरुले महाधिवेशनलाई धकेल्ने काम गर्नुभएको छ ।’

यहीँनेर नेतृत्व लिने स्वार्थ जोडिएको छ । संस्थापन पक्ष तत्कालीन फोरम लोकतान्त्रिकबाट प्रवेश गरेको समूहलाई विश्वासमा लिन सके नेतृत्व आफूतिर आउने सोचमा छ । पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौलाको चाहना नहुँदा–नहुँदै आफूहरुकै प्रयासमा समायोजन गरिएको सन्देश संस्थापन पक्ष दिन चाहन्छ । त्यही बुझेर अर्को पक्ष असन्तुष्ट छ ।

३२ वर्षे उमेरहद लागू गर्ने–नगर्नेमा पनि दुवैका आ(आफ्ना स्वार्थ छन् । उमेर हद लागू गर्न सकिए विद्यार्थीमाझ पकड रहेका अर्को पक्षका आकांक्षी बाहिरिने र त्यसको फाइदा आफूलाई हुने संस्थापन पक्षको बुझाइ छ । अर्को पक्ष उमेर हद हटाएर विद्यार्थीमाझ राम्रो पकड भएका नेतालाई अघि सार्ने दाउमा छ । नेविसंघ अध्यक्ष महरले पार्टीमा गुटको समस्याले महाधिवेशन टर्ने खतरा देखिएको बताए ।

‘पार्टीभित्रको समस्या सुल्झिए हामी मंसिर २ गतेसम्म महाधिवेशन गराएरै छाड्छौं,’ उनले भने । महर समितिको कार्यकाल भदौ २ गते सकिए पनि महाधिवेशन गराउने प्रयोजनका लागि तीन महिनाको समय थप पाएको छ । मंसिर २ सम्म महाधिवेशन नभए समिति स्वतस् भंग हुनेछ छ ।

संस्थापन इतरपक्षका विद्यार्थी नेता मोती भण्डारीले केन्द्रीय कार्यसमितिले ३२ वर्ष उमेर हद हटाउन पार्टीमा सिफारिस लेखी पठाइसकेका कारण समस्या झिक्न नहुने बताए ।