राजनीति

नेकपाको विवाद : ओली-नेपालबीचको असमझदारी हटाउनआइतबार सचिवालय बैठक बस्दै, लगत्तै स्थायी कमिटी

काठमाडौं । तत्कालिन दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको घोषणासहित गठबन्धन भएको एकवर्ष र एकता भएर नेपाल कम्युनिस्ट पार्टी बनेको पाँच महिना पुग्दा उक्त पार्टीभित्र सरकार सञ्चालन र पार्टी सञ्चालनलाई लिएर सार्वजनिक रूपमै विवाद देखिएको छ।

केन्द्रमा दुई पार्टी एक भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएपनि यसका मातहत कमिटी र विभागबीचमा आधारभूत रूपमा पार्टी एकीकरण हुनै बाँकी छ। यसै सन्दर्भमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यशैली एकलौटी भएको भनेर जनाउँदै आएको असन्तुष्टी सार्वजनिक रूपमै प्रकट हुन थालेको हो। जसले नेकपाभित्रको विवादलाई सार्वजनिक गर्नमात्रै भूमिका खेलेन नेकपाका शीर्ष नेतादेखि केन्द्रिय सदस्यसम्म एकअर्काप्रति संसद, सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा अभिव्यक्ति दिँदै आएका छन्।

नेता नेपालको असन्तुष्टी पार्टीको अन्तरिम विधानको मर्म र भावनाविपरीत संगठनात्मक सिद्धान्तलाई लत्याउँदै निर्णय गर्ने क्रम सुरु भएको भन्ने हो। जुन सार्वजनिक रूपमै प्रकट भएको हो। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले जब असोज ११ गते संसदमा मुलुक ठिकठाक ढंगले नचलेको भन्दै सरकारका कामकारबाही विरुद्ध खुलेर असन्तुष्टी जनाए तब नेपाल असन्तुष्ट रहेको कुरा सतहमा आएको थियो।

संसदमा बोलेको भोलिपल्ट नेता नेपालले नेकपाका स्थायी समिति सदस्यहरूका लागि चियापान कार्यक्रमको आयोजना गरी पार्टीका औपचारिक निर्णय गर्ने निकाय स्थायी समितिलाई बेवास्ता गरेर सचिवालयद्वारा प्रदेश कमिटीमा नेताहरूलाई दिइएको जिम्मेवारी गलत भएको र तत्काल स्थायी समिति बोलाउनेबारे छलफल गरे।

जुन चियापानमा अध्यक्षद्वय ओली र प्रचण्डको कोर टीमका स्थायी कमिटीमा रहेका नेताहरू सहभागी भएनन्।

बोलाइयो सचिवालय बैठक :

यसैबीच दुवै अध्यक्षबीच भएको छलफलले असोज २१ गते आइतबार सचिवालयको बैठक बोलाउने सहमति गरेको छ। पार्टीभित्र देखा परेका सबै समस्याबारे जवाफ दिन सचिवालय बैठक बस्ने ओली-प्रचण्डको तयारी छ। सोही बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गरिने बताइएको छ।

सचिवालय बैठक पश्चात् लगत्तै स्थायी कमिटी बैठक बोलाउने नेकपाको तयारी रहेको नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।