बाग्मती

साना सवारीले लिए मनपरी भाडा

काठमाडौँ । कोटेश्वरबाट पूर्वी नेपालमा सञ्चालन हुने माइक्रो बसले तोकेभन्दा बढी भाडा लिएका छन् । सरकारले कोटेश्वरबाट बर्दिवाससम्मको भाडा रु ५७६ तोकिए पनि रु ९०० सम्म लिइएको छ । यसैगरी कोटेश्वरबाट धरानसम्मको भाडा रु एक हजार ४१ तोकिए पनि रु एक हजार ५०० सम्म लिइएको छ । कोटेश्वरबाट जनकपुरसम्मको भाडा रु ७८५ सम्म तोकिए पनि रु एक हजारसम्म लिइएको नागरिक अनुगमनका क्रममा भेटिएको यातायात सुधार अभियानमा लागेका रामबहादुर थापाले सुनाए ।

“किन तोकेभन्दा बढी भाडा लिएको भनेर सोध्दाा हाम्रो व्यक्तिगत सवारी हो, किन सरकारले तोकेको भाडा मात्र लिने ? हामीलाई लागे जति लिएका छौँ भनी जवाफ दिए”, उनले भने । ट्राफिक प्रहरीले कोटेश्वर चोकमा भाडा सूची राखे पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्याय कोटेश्वरबाट पूर्व चल्ने साना सवारी साधनले बढी भाडा लिइरहेको गुनासो आइरहेको बताउँछन् । विभागले प्रभावकारी अनुगमन गर्न नसक्दा पनि समस्या भइरहेको यात्रुको गुनासो छ । विभागले भने अनुगमन बढाउने गृहकार्य गरिरहेको जनाएको छ ।

बुकिङ नगरी सकियो टिकट

असोज ९ गतेदेखि नै दशैँका लागि अग्रिम टिकट बुकिङ गरिए पनि यो मार्गमा सञ्चालन हुने सवारीले बेवास्ता गरेका छन् । अग्रिम टिकट नदिई कालाबजारी भइरहेको यात्रु रामचन्द्र शर्माले गुनासो गरे । भनसुनका आधारमा मात्र टिकट दिइरहेको उनको भनाइ छ । सप्तकोशी यातायात सङ्घका महासचिव नारायण भट्टराई असोज २५ गतेसम्मका लागि टिकट बुकिङ गरिसकिएको दाबी गरे । यात्रुले भने टिकट नखोलीकनै कालाबजारीमा बेचेर सकेको आरोप लगाएका छन् ।

सङ्घले २५० सवारी थपेर आजदेखि टिकट दिन शुरु गरिएको जनाएको छ । थप सवारी व्यवस्था गरेर पनि पूर्व जाने सबै यात्रुलाई दशैँ मान्न लगिने उनको प्रतिबद्धता छ । २४ गतेदेखि सवारी जुनसुकै रुटमा जानसक्ने गरी व्यवस्था गरिएको विभागका प्रवक्ता उपाध्यायले बताए । सरकारले टिकट खुलिसक्यो भन्दा पनि किन नदिएको भन्दा हामीलाई मन लागेन खोलेनौँ भनी जवाफ दिएको कोटेश्वरमा टिकट कुरेर बसेका यात्रुले गुनासो गरेका छन् ।