कर्णाली प्रदेश

जलचर प्राणी लोप हुँदै गएपछि स्थानीयवासी चिन्तित

अत्तरिया । पछिल्ला केही वर्षयता कर्णालीलगायत सहायक नदीमा बस्ने जलचर प्राणी लोप हुँदै गएपछि स्थानीयवासी चिन्तित भएका छन् ।

कर्णाली नदीमा पाइने सहर जातिका माछा, स–साना भुरा माछा, घडियाल गोही, विश्वमै दुलर्भ मानिने डल्फिनलगायत लोप हुँदै गएका छन् । विगत २०/२५ वर्षअघि कर्णाली नदीमा सहर (महाशेर) माछा छ्याप्छ्याप्ती पाइने गरेकामा अहिले निकै कम मात्रामा पाइने गरेको संरक्षणकर्मी बताउँछन् । कर्णालीमा २० देखि ३० किलोसम्मका सहर (महाशेर) माछा पाइने गरेकामा अहिले लोपोन्मुख अवस्थामा पुगेको छ । कर्णालीमा जथाभावी माछा मार्ने गरेकाले जलचर प्राणी सङ्कटमा पर्दै गएकाले त्यसलाई रोक्नुपर्ने रानी जमरा कुलरिया जलसिँचाइ मूल कुला उपभोक्ता समितिका सचिव पर्शुराम चौधरीले बताए ।

जलचर प्राणी लोप भएर जान थालेपछि तिनीहरुको संरक्षणका लागि विशेष नीति बनाएर कार्यान्वनमा ल्याउन पहल गर्नुपर्ने चौधरी बताउँछन् । पृथ्वीमा भएका अन्य प्राणीसरह बाँच्न पाउने अधिकार पानीमा बस्ने प्राणीको भएकाले तिनीहरुको संरक्षणका लागि पहल गर्नुपर्ने उनले बताए । पर्यटन व्यवसायी थर्कबहादुर शाहका अनुसार सहर प्रजातिका माछाको सङ्ख्या घट्दै गएकाले कैलालीका सबै नदी खोलामा माछा मार्ने कार्यमा रोक लगाउनुको विकल्प छैन । जाल हानेर र विषादी प्रयोग गरेर माछा मार्न थालेपछि जलचर प्राणी सङ्कटमा पर्दै गएका छन् ।

सहर माछा, डल्फिन, घडियाल, ओतरको आहारा स–साना माछाका भुरा भएकाले भुरा पनि मानवीय गतिविधिका कारण कम हुन थालेको रानी जमरा कुलरिया सिँचाइ कुलो समितिका अध्यक्ष लालवीर चौधरीले बताए । कर्णालीमा मात्रै होइन सो नदीमा मिसिने मोहनालगायत अन्य सहायक नदीनालामा पानीको सतह बढेका बेला सहर माछा, डल्फिन, घडियाल, ओतर देखिने गरेको डल्फिन संरक्षण केन्द्र कैलालीका सचिव विजयराज श्रेष्ठले जानकारी दिए।

जथाभावी माछा मार्ने प्रचलनले गर्दा सहर माछा, डल्फिन, घडियाल, ओतरजस्ता पर्या–पर्यटनका लागि महत्वपूर्ण मानिने जलचर प्राणी लोप हुनु दुःखद् भएको उनको भनाइ छ । सहर माछा, डल्फिन, घडियाल, ओतरजस्ता पानीजन्य प्राणीको संरक्षणका लागि जनस्तरबाटै लाग्नुपर्ने श्रेष्ठ बताउँछन् ।